काठमाडौं । सन् २०२५ को जनवरीदेखि मेसम्मको डाटा अनुसार चिनियाँ कारको सबैभन्दा ठूलो बजार अमेरिकी सिमाना जोडिएको मेक्सिकोमा देखिएको छ । चिनियाँ कम्पनीले चालु वर्षको ५ महिनामा १ लाख ८९ हजार २७३ युनिट कार मेक्सिको निर्यात गरेका हुन् ।
चीनबाट मेक्सिकोे हुने कार निर्यात अघिल्लो वर्षको पाँच महिनाको तुलनामा २४.२ प्रतिशतले वृद्धि भएको हो । चीन सरकारले कार निर्यातमा बनाएको नीति र कठिन भौगोलिक रुटका बाबजूद चिनियाँ कम्पनीले व्यापक निर्यात वृद्धि गर्न सफल भएको तथ्यांकले देखाएको छ । मेक्सिकोेपछि चिनियाँ कारको अर्को ठूलो बजार युनाइटेड अरब इमिरेट्स (यूएई)मा देखिएको छ ।
यूएईमा यो पाँच महिनाको अवधिमा १ लाख ७७ हजार ९१ युनिट कार निर्यात गरेको छ । जुन गत वर्षको ५ महिनाको तुलनामा ६१ प्रतिशतले धेरै हो ।
चीनबाट रसिया र ब्राजिलमा हुने निर्यातमा भने गिरावट आएको छ । सन् २०२५ को ५ महिनामा रसियामा १ लाख ४६ हजार २२० र ब्राजिलमा १ लाख ३३ हजार ६१९ सवारी निर्यात भएको छ । यो संख्या अघिल्लो वर्षभन्दा क्रमशः ५५.३ र १४.९ प्रतिशतले कम हो ।
चिनियाँ कारहरू वेलायत, बेल्जियम र अष्ट्रेलिया जस्ता देशहरूमा पनि धेरै निर्यात भएका छन् । यो ५ महिनामा बेल्जियममा १ लाख २३ हजार ५५२, वेलायतमा १ लाख ३ हजार ८०१ र अष्ट्रेलियामा ९९ हजार ३९८ युनिट कार निर्यात भएको हो ।

