काठमाडौं । स्कोडा र फक्सवागेन इण्डियाले गाडीमा समस्या देखिएपछि सन् २०२५ मा दोस्रो पटक रिकल गरेका छन् । दुवै कम्पनीले भारतमा बनाएका आफ्ना गाडीमा सिटबेल्ट सम्बन्धी समस्या देखिएपछि रिकल गरेको जनाए ।
कम्पनीले यसअघि अप्रिल महिनामा पनि रिकल गरेको थियो । फक्सवागेन इण्डियाको २.० रणनीतिपछि भारतमा बनेका सबै मोडलहरूमा समस्या देखिएको भन्दै सर्भिस सेन्टर लगेर बनाउन भनेको हो ।
स्कोडा इन्डियाका अनुसार स्कोडा काइल्याक, कुशक, स्लाभिया र फक्सवागेन टाइगुन र भर्टुसको सिट बेल्टमा समस्या देखिएको हो ।
कम्पनीले गुणस्तर परीक्षणको क्रममा सिट बेल्टमा दुई प्रकारका समस्या भेटाएको थियो । समस्या देखिएसँगै ग्राहकलाई सम्पर्क गरेर निःशुल्क सिटवेल्टको समस्या समाधन गराउन कम्पनीले भनेको छ ।
साथै, ग्राहकहरूले कम्पनीको आधिकारिक वेबसाइटमा गएर आफ्नो गाडी रिकलमा परेको हो वा होइन आफैँ चेक गर्न सक्नेछन् ।
रिकल सामान्य प्रक्रिया हो
नेपालमा रिकल भन्ने बित्तिकै ठूलो समस्या मान्ने चलन छ । रिकल आफ्ना उत्पादनमा आउन सक्ने र आएका समस्या समाधान गर्न चर्चित कम्पनीहरूले ग्राहक बोलाउने बाटो हो । यसले ग्राहकको सुरक्षामा अटोमोबाइल कम्पनीहरू कतिसम्म चिन्तित छन् भन्ने विषयलाई पनि देखाउँछ ।
यसरी हुने रिकलले ग्राहकलाई एक पटक सर्भिस सेन्टर पुर्याउछ । तर, कम्पनीहरूको लागि भने अर्बौ रुपैयाँ खर्च बढाउँछ ।
यस वर्ष मात्रै अमेरिकी कम्पनी फोर्डले ९० पटक गाडी रिकल गरिसकेको छ । फोर्डले यस वर्ष गरेको रिकल बापत कम्पनीलाई ५७० मिलियन डलर अतिरिक्त खर्च गराएको छ ।
नेपालमा के छ ?
नेपाली बजारमा पनि स्कोडा र फक्सवागेनका गाडी बिक्री हुँदै आएका छन् । स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लू स्कोडाका अनुसार भारतमा बिक्री भएका गाडीमा पछाडि सिटमा समस्या देखिएको हो । निर्यात प्रोडक्टमा समस्या आएको छैन । त्यसैले नेपालमा सिटबेल्ट सम्बन्धी समस्या नरहेको कम्पनीको भनाइ छ ।

