काठमाडौं । मोरिस ग्यारेज (एमजी) ले भारतमा स्मार्ट इलेक्ट्रीक एसयूभी ल्याउने भएको छ । भारतीय उपभोक्ताको बजेटमा आधारित रहेर आउने कम मूल्यको माइक्रो एसयूभी मोडल हुनेछ ।
कम्पनीले यसको डिजाइन निकै बक्सी बनाउने छ । जसलाई धेरै हदसम्म लाइफ स्टाइल अफरोड एसयूभी भन्न सकिन्छ । कम्पनीले भारतमा उत्पादन गर्ने माइक्रो एसयूभी इलेक्ट्रीक हुनेछ ।
भारतमा उत्पादन हुने माइक्रो एसयूभी चिनियाँ कम्पनी एसएआईसी, अमेरिकी जनरल मोटर्स र चीनकै विलिङ मिलेर बनाएको बाओजुन ब्राण्डको ‘एप’ मोडलमा आधारित हुनेछ । एमजी इन्डियाले यसअघि नै चीनको विलिङ ईभीलाई कोमेट नाम दिएर भारत उत्पादन गरिसकेको छ । यसको पनि भारतमा अलग नाम रहने छ ।
चीनमा बाहोजुन एप मोडल ३ वटा मात्रै ढोकाको साथ उपलब्ध छ । तर, भारतमा बन्ने यही माइक्रो एसयूभीमा भने ५ ढोक हुनेछ । बाओजुन एपको लम्बाई ३३८१ एमएम, चौडाई १६८५ एमएम र उचाई १७२१ एमएम छ । भारतमा उत्पादन हुने मोडलको लम्बाई केही बढ्न सक्ने अनुमान गरिएको छ । यसमा २११० एमएमको ह्वीलवेस रहेको छ ।

कम्पनीले भारतमा उत्पादन गर्न लागेको माइक्रो एसयूभी एसयूभी ५ ढोक र ४ सिट क्षमताको हुनेछ । यसलाई सन् २०२४ को दोस्रो क्वाटरबाट बजारमा उतार्नेगरी एमजीले काम गरिरहेको हो ।
बाओजुनमा २८ किलोवाट आवरको ब्याट्री प्याक छ । यसमा ६७ हर्सपावर तथा १४० न्यूटन मिटर उत्सर्जन गर्नेे सिंगल मोटर सेटअप दिइएको छ । त्यसैले पनि नेपालमा एमजी-४ भन्दा तल यसको मूल्य रहने छ ।
भारतमा उत्पादन हुने यो एसयूभीको लम्बाई करिब ४ मिटर हुने अनुमान गरिएको छ । लाइफस्टाइल एसयूभी सेग्मेन्टमा आउने भएपछि यसमा ड्यूल मोटर सेटअपसहित अलह्वील ड्राइभ सिस्टम रहने अनुमान गर्न सकिन्छ ।
भारतमा उत्पादन भएको कोमेट तत्कालै नेपाल ल्याएको एमजीले नयाँ एसयूभी पनि नेपाली बजारमा ल्याउने छ । कम्पनीको नयाँ माइक्रो एसयूभीसँग तत्काल प्रतिस्पर्धा गर्ने कुनै मोडल नभएपनि टाटा पन्च ईभी यसको मुख्य प्रतिस्पर्धी हुन सक्नेछ ।

