२०७८ साल फलिफाप भयो यी ६ नयाँ मोटरसाइकलको लागि

काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ साल आजबाट सुरु भएको छ । हिजोबाट विदा भएको २०७८ साल अटोमोबाइल बजारमा थुप्रै नयाँ मोडल आए । बजारमा आएका सबै मोडलले राम्रो ब्यापर गर्न सक्ने हुँदैन । त्यसैले केही नयाँ मोडलले राम्रै सफलता हात पारे ।

मिति तोकिएर पनि नाडा अटो शो २०२१ भएन भने कोभिड १९ को संक्रमणको कारण बजार खुल्ने र बन्द हुने भइरह्यो । यस्तोमा एक वर्ष भित्र बजारमा आएर सफलता चुमेका ६ मोटरसाइकलको वारेमा यहाँ चर्चा गरिएको छ ।

१. टीभीएस रेडर

टीभीएस रेडर २०७८ सालमा सार्वजनिक भएर निकै चर्चा बटुलेको मोटरसाइकल हो । १२५ सीसी सेग्मेन्टमा आएको यो मोटरसाइकल यसको लुक्स, पावर, मूल्य र फिचरका कारण जति चर्चामा रह्यो त्यतिनै सफल पनि भयो ।

टीभीएसले रेडर १२५ मा प्रिमियम मोटरसाइकलमा दिइने गियर इन्डिकेटर पाउन सकिन्छ । कम्पनीले यसमा ५ स्पीड क्षमताको गियरबक्स दिएको छ । यसमा रहेको १२४ सीसी इन्जिनले अधिकतम १२.९ पीएस पावर तथा ११.५ एनएम टर्क जेनेरेट गर्छ ।

सामान्यतया १२५ सीसी सेग्मेन्टका मोटरसाइकलमा डबल सस्पेन्सन पाइन्छ । तर, टीभीएसले राइडर १२५को रियरमा ५ स्टेप एड्जष्टेवल मोनोशक सस्पेन्सन दिएको छ । कम्पनीले यसको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री वितरण गर्दै आएको छ ।

२. यामाहा एमटी १५ बीएस ६

यामाहाले एमटी १५ को बीएस ६ भर्सन २०७८ सालमा सार्वजनिक गरेको हो । एमटी १५ बीएस ६ यसको बीएस ४ भर्सन जत्तिकै सफल हुन सक्यो । कम्पनीले सार्वजनिक गरेकै दिन २०० यूनिट मोटरसाइकल एकै पटक ग्राहकलाई हस्तान्तरण गरेको थियो ।

यो मोटरसाइकलमा रहेको १५५ सीसी एचओएचसी लिक्वीड कुल्ड फोर भल्भ इन्जिनले १०००० हजार आरपीएममा १९.०५ बीएच पावरका साथै ८५०० सय आरपीएममा १४.७ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्सको साथै स्टान्डर्ड स्लिपर क्लच पाउन सकिन्छ ।

एमटी १५ मा अगाडि टेलिस्कोपिक फर्क लगाइएको छ भने, यामाहा आर १५ भी ३.० मा उपलब्ध आलोय ह्वीलका साथै एमआरएफ ट्युबलेस टायर दिइएको छ । साथै मोटरसाइकलमा बक्स टाइप स्विंगआर्मले एल्युनियम युनिट, डेल्टाबक्स फ्रेम, परिमार्जित न्यू बग आई एलइडी हेडल्याम्प, मस्कुलर फ्युल ट्यांक, लोअर टेल सेक्सन, फुल्ली डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ ।

यसको मूल्य ४ लाख ५९ हजार ९ सय रुपैयाँ रहेको छ ।

३. एक्सपल्स २०० फोर भी

२०८७ सालको अन्तिममा सार्वजनिक भएको एक्सपल्स २०० फोर भी यो वर्षभर नै चर्चामा रह्यो । सार्वजनिक भएको केही दिनमा नै यो मोटरसाइकल सबै विक्री भइसकेको कम्पनीले जनाएको छ ।

यो मोटरसाइकल वर्षभरी जति चर्चामा रह्यो त्यति नै सफल हुने अनुमान गरिएको थियो । एक्सपल्स २०० फोर भीमा २०० सीसी लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले १९.१ पीएस पावर र १७.३५ एनएम टर्क प्रदान गर्छ । हिरोले यसमा ७ फिन आयल कुलरको प्रयोग गरेको छ ।

एक्सपल्समा अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील, एलइडी लाइट, डिजिटल डिस्प्ले, सिंगल च्यानल एबीएस, व्लूटुथ कनेक्टीभीटी जस्ता फिचर यसमा उपलब्ध छ ।

यसको मूल्य ४ लाख ५० रुपैयाँ रहेको छ ।

४. सीबी हाइनेस ३५०

होन्डाले नेपालमा सार्वजनिक गरेको सीबी हाइनेस ३५० निकै चर्चित रह्यो । क्रूजर मोटरसाइकल खोज्ने ग्राहकलाई रोयल इनफिल्डको विकल्पको रुपमा यो मोटरसाइकल भयो । यो मोटरसाइकलले नेपाली ग्राहकहरुको मन जित्नुका साथै व्यापारमा समेत सफलता हात पार्यो ।

हाइनेस सीबी ३५० मा ३४८.३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले २०.८ बीएच पावर र ३० एनएम टर्क जेनेरेट गर्छ ।

होन्डा सीबी ३५० मा राउन्ड हेडल्याम्प, सिंगल पोड इन्स्ट्रुमेन्ट क्लस्टर, क्रोम फेन्डर्स र क्रोम फिनिस एक्जस्ट दिएको छ ।

यसकम ड्युअल टोन पेन्ट स्किम र होन्डा स्मार्टफोन भ्वाइस कन्ट्रोल सिस्टम, ड्युअल च्यानल एबीएस, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर उपलब्ध रहेको छ ।

यसको मूल्य ७ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

५. केटीएम २५० एड्भेन्चर

केटीएम २५० एड्भेन्चर २०७८ सालमा सार्वजनिक भएको थियो । यो मोटरसाइकल किनै चर्चित बन्यो । एड्भेन्चर मोटरसाइकल रुचाउनेहरुको पहिलो रोजाइमा यो मोटरसाइकल पर्न गयो । रोयल इनफिल्ड हिमालयनको विक्री बन्द भएको फाइदा यो मोटरसाइकलले पायो र ब्यापारमा पनि सफल रह्यो ।

केटीएम २५० एड्भेञ्चरमा २४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएममा २९.६ पीएस पावर तथा ७००० हजार आरपीएममा २४ एनएम टर्क जनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

कम्पनीले यसलाई ३९० एड्भेञ्चरबाट प्रेरित डिजाइनमा निर्माण गरेको हो । केटीएम २५० मा ३९० एड्भेन्चरबाट स्टील ट्रेल फ्रेम, ४३ एमएम डब्ल्यूपी एपेक्स इन्र्भटेड सस्पेन्सन, मोनोशक, ३२० एमएम फ्रन्ट र २३० एमएम रियर डिस्क, ह्वील, फ्यूल ट्याङक, अफरोड एबीएस जस्ता फिचर ३९० एड्भेन्चबाट लिएको हो ।

यो मोटरसाइकलको मूल्य ८ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ ।

६. क्रसफायर ट्रेकर २५०

क्रसफायरले २०७८मा कम मूल्यको मोटरसाइकल ट्रेकर २५० सार्वजनिक गरेर धेरै चर्चा बटुल्न सफल भयो । कम मूल्यका साथै धेरै पावर भएको ट्रेकर २५० ब्यापारमा पनि उत्तिकै सफल भयो ।

यो मोटरसाइकलमा २२३ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले १७ पीएस पावर तथा १७ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा थप फिचरका रुपमा युएसबी चाजिर्ङ पोर्ट, डिजिटल क्लस्टर, गियर इन्डिकेटर उपलब्ध रहेको छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको कम्पनीले जनाउको छ । यसको मूल्य ३ लाख ७५ हजार रुपैयाँ रहेको छ ।


Back_to_top