काठमाडौं । पाँच वर्ष अगाडि बजाजले नेपालमा मोटरसाइकल एसेम्बल सुरू गर्दा वार्षिक २ लाख २० हजारदेखि २ लाख ७० हजार यूनिट मोटरसाइकल तथा स्कुटर बिक्री हुन्थ्यो । अहिले त्यो आँकडा ५० प्रतिशतभन्दा बढीले घटेको छ ।
बजाजका मोटरसाइकल नेपालमा सर्वाधिक बिक्री हुन्थ्यो । त्यसैले हुलास अटाे क्राफ्टले वार्षिक १ लाख यूनिट मोटरसाइकल उत्पादन गर्ने प्लान्ट रुपन्देहीको रामग्राम क्षेत्रमा लगाएको थियो । बजाजले सुरूका दिनमा उत्पादन पनि राम्रै संख्यामा गरेको थियो ।
‘हाम्रो दैनिक ३०० यूनिट उत्पादन क्षमता हो । कोभिड-१९ पछि बजार माग बढ्दा उत्पादन क्षमताको ८५ देखि ९० प्रतिशतसम्म हामीले उत्पादन गरेका थियौं । अहिले बजारमा मोटरसाइकलको बिक्री नै छैन । त्यसैले क्षमताको ४० प्रतिशत हाराहारीमा मात्रै एसेम्बल प्लान्ट संचालनमा छ,’ हुलास अटाे क्राफ्टका निर्देशक अभिमन्यू गोल्छाले भने ।
बजाजले नेपालमै एसेम्बल गरेर नयाँ तरङ्ग बजारमा ल्यायो । बजाजलाई पच्छाउँदै टीभीएसले वीरगंजमा एसेम्बल यूनिट बनायो । कम्पनीले १ लाख यूनिटसम्मको उत्पादन क्षमता रहेको प्लान्टमा अहिल्यै ६० हजार यूनिटसम्म उत्पादन गर्न सकिने कम्पनीको भनाइ छ ।

यी दुई कम्पनीको प्लान्ट संचालनमा आएसँगै सरकारले नै कम्प्लीट ब्यूल्ट यूनिट (सीबीयू) मोटरसाइकल आयातलाई निरुत्साहित गर्ने नीति लियो । फलतः एसेम्बल यूनिटले धेरै सुविधा पाए । त्योसँगै अन्य ब्राण्डले नेपालमा एसेम्बल प्लान्ट लगाउन थाले ।
आधादर्जन प्लान्ट संचालनमा, अरू पनि थपिँदै
बजाज र टीभीएसपछि यामाहा, रोयल इनफिल्ड, सुजुकी र होण्डाले ठूलो लगानीमा एसेम्बल यूनिट तयार पारेका छन् । पछिल्ला दिनमा खुलेका प्लान्टहरू निकै आधुनिक रहेको कम्पनीहरूको भनाइ छ ।

यी ६ कम्पनीको अलावा हिरोको प्लान्ट सिजी मोटर्सले बनाउँदै छ । उसले उत्पादन क्षमता ७० हजार यूनिट हुनेगरी प्लान्ट लगाउन लागेको बताएको छ । उसोत क्रस फायरले पनि नेपालमै मोटरसाइकल एसेम्बल गर्दै आएको छ ।
ठूलो बनाउने योजनासहित प्लान्ट निर्माण
बजाज बाहेक अन्य कम्पनीले बनाएको प्लान्ट क्षमता विस्तार गर्नेगरी तयार गरिएको देखिन्छ । टीभीएस, रोयल इनफिल्ड जस्ता कम्पनीले आफ्नो क्षमता बढाएर १ लाख यूनिटसम्म वार्षिक उत्पादन क्षमता बनाउन सक्नेगरी प्लान्ट लगाएका हुन् ।

टीभीएसले अहिले ६० हजार यूनिट उत्पादन जडित क्षमता भएको प्लान्ट चलाउँदै आएको छ । यामाहाले ६० हजार यूनिट उत्पादन गर्ने प्लान्ट चलाउँदा रोयल इनफिल्डले वार्षिक २० हजार यूनिट उत्पादन गर्नेगरी प्लान्ट चलाइरहेको छ ।
होन्डाले १ लाख यूनिट उत्पादन क्षमताको प्लान्ट संचालनमा ल्याएको छ । उसले अहिलेलाई १५ हजार यूनिट उत्पादन लक्ष्य राखेर काम सुरू गरेको जनाएको छ । सुजुकीको उत्पादन क्षमता २५ हजार यूनिट रहेको छ ।
बजार माग घट्दा उत्पादन खुम्चियो
दुई पाङ्ग्रे सवारीसाधनको मागमा उच्च गिरावट आइरहेको छ । पछिल्ला दुई वर्ष निरन्तर ओरालो लागेको बजारमा वार्षिक १ लाख २५ हजार यूनिटभन्दा बढी दुई पाङ्ग्रे साधन बिक्री नहुने अवस्था आएको छ ।
अहिलेको उत्पादन जडित क्षमता र कम्पनीहरूको उत्पादन लक्ष्य हेर्दा कम्तीमा २ लाख ५० हजार यूनिट मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल हुन्छन् । तर, बजार माग ओरालो लाग्दा ४० प्रतिशतभन्दा कम क्षमतामा प्लान्ट संचालन हुने देखिन्छ ।


