विश्व महिला दिवस : कार चालकको सुरक्षामा समानता खोज्दै एस्ट्रिड लिन्डर

काठमाडौं । विश्वभर हुने सवारी दुर्घटनामा पुरुष चालकभन्दा तीन गुणा बढी चोटपटक महिला चालकहरूलाई लाग्ने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । यद्यपि, सुखद कुरा के छ भने विगतका दशकको तुलनामा मोटर वाहन दुर्घटना न्यूनीकरण हुँदै गएका छन् । त्यसमा पनि खास गरेर ४ पाङ्ग्रे निजी साधनको दुर्घटना दर निकै कम छ ।

आधुनिक कारहरू महिलामैत्री छ वा छैन भन्ने विषयमा बहस र छलफल भएको पाइँदैन । कार भित्र पुरुष र महिलाहरूले समान किसिमको सहजता महसुस गरेका छन् कि छैनन् भन्ने अझै स्पष्ट छैन ।

स्वीडेनको राष्ट्रिय सडक र यातायात अनुसन्धान संस्थानमा कार्यरत अनुसन्धानकर्ता एस्ट्रिड लिन्डर महिला सुरक्षामा केन्द्रित भएर काम गर्दै आएकी छिन् । लिन्डरले स्वीडेनमा कार सुरक्षा मापन गर्न महिला डमीको विकास गरेकी छिन् । त्यसको लागि उनलाई ‘वुमन अफ वर्थ’ पुरस्कार दिइएको छ ।

लिन्डर स्वीडेनको चाल्मर्स विश्वविद्यालयमा सहायक प्राध्यापक पनि हुन् । उनको काम दुर्घटना हुँदा जोखिम मूल्यांकन गर्न डमीहरूको विकासमा केन्द्रित छ । उनको लक्ष्य पुरुष र महिला दुवैका लागि दुर्घटना सुरक्षा अध्ययन गर्नु हो । उनले आफ्ना सहकर्मीहरू र चाल्मर्स विश्वविद्यालयका म्याट्स स्वेन्सनसँग मिलेर पहिलो मध्यम आकारको महिला क्र्यास टेस्ट डमी विकास गरेका छन् ।

सडक सुरक्षामा उनको यात्रा

उनले ९० को दशकमा चाल्मर्समा इन्जिनियरिङ फिजिक्स पढेकी हुन् । स्नातक गरेपछि जागिर खोज्ने क्रममा चाल्मर्समा पीएचडी विद्यार्थीको रूपमा काम सुरू गरेकी थिइन् । त्यहीँबाट उनले दुर्घटना सुरक्षा सम्बन्धी काम सुरू गरेकी हुन् ।

कार सुरक्षाको लागि परिचित भोल्भो, साब, अटोलिभ, फोल्क्साम र चाल्मर्ससँगको सहकार्यमा स्वीडिस इनोभेसन एजेन्सीमा उनको सक्रियता बढ्यो । त्यतिबेला तयार पारिएको क्र्यास टेस्ट डमी औसत मानिसको आकारको थियो । त्यसपछि उनले अस्ट्रेलिया र इङ्ल्यान्डमा काम गरेकी थिइन् ।

क्र्यास टेष्टको लागि महिला डमी बनाउने विचार

एस्ट्रिड लिन्डरले पीएचडी अध्ययनको क्रममा सोधपत्र तयार गर्दै जाँदा पुरुषहरूको तुलनामा महिलाहरूलाई ह्विप्ल्यास चोटपटक लाग्ने बढी जोखिम रहेको पाइन् ।

त्यसपछि कुल जनसंख्याको आधाभन्दा धेरै हिस्सा ओगटेको महिलाहरूलाई प्रतिनिधित्व गर्ने मोडेल डिजाइन गर्न काम गर्नु पर्छ भन्ने तर्क लिन्डरको मनमा गड्यो । अहिले पनि औसत पुरुष सुरक्षालाई ध्यान दिएर चोटपटक विरुद्धको मापदण्ड बनाइ रहेको हामी पाउँछौं ।

पुरुष र महिलाको शारीरिक बनोट नै फरक हुन्छ । कंकालमा ठूलो परिवर्तन नभए पनि अन्य अङ्गहरू र नरम भागहरू फरक हुनेहुँदा त्यसको सुरक्षामा काम भएको पाइँदैन । हो, त्यसैले एस्ट्रिड लिन्डरलाई नयाँ खोजमा लाग्न प्रेरणा मिल्यो ।

महिला दुर्घटना परीक्षणमा डमीको प्रयोग

भोल्भोले गर्भवती महिलाको डमी बनाएर परीक्षण गरेको थियो । उक्त परीक्षण दुर्घटनामा आमाको पेटमा रहेको भ्रुण कसरी सुरक्षित गर्ने भन्ने बारेमा थियो । यद्यपि, महिला चालकको लागि सुरक्षाको अध्ययन गरिएको थिएन । किनकि डमीहरू औसत महिलाको रूपमा डिजाइन गरिएकै थिएन । एस्ट्रिड लिन्डरलाई यसले नयाँ डमी निर्माणमा जुट्न उत्प्रेरित गर्यो ।

सन् २०१२ मा एस्ट्रिड लिन्डरले औसत महिलाको गणितीय क्र्यास टेस्टको डमी मोडेल उत्पादन गरेकी हुन् । दुर्घटना हुँदा पुरुष र महिलाको डमीमा के कस्ता चोटपटक लाग्छ भन्ने एकिन गर्न भर्चुअल परीक्षणको लागि यी डमी बनाइएका थिए ।

आज सम्पूर्ण वयस्क जनसङ्ख्याका लागि नयाँ कारको सुरक्षाको मूल्याङ्कन गर्ने सम्भावना छैन । चालकको रूपमा औसत आकार, तौल र उचाइलाई मानेर दुर्घटना सुरक्षा मूल्याङ्कन गरिन्छ । बच्चाहरूको प्रतिनिधित्व गर्न पनि बाल डमीहरू प्रयोग हुने हो ।

 


Back_to_top