काठमाडौं । रोयल इनफिल्डले तीव्र बजार विस्तार गर्ने रणनीति अनुसार नयाँ मोटरसाइकल ल्याउने क्रम जारी राखेको छ । कम्पनीले हालै पहिलो पटक लिक्वीड कुल्ड इन्जिन भएको मोटरसाइकल हिमालायन ४५० बिक्री सुरु गरेको छ । यो मोटरसाइकल किन्न ग्राहकले २ महिनासम्म प्रतिक्षा गर्नु पर्ने अवस्था छ ।
योसँगै कम्पनीले ४५० सीसी सेग्मेन्टमा अर्को नयाँ मोटरसाइकल ल्याउने तयारी तीव्र बनाएको छ ।
चेन्नाई बेस प्रिमियम मोटरसाइकल निर्माता कम्पनी रोयल इनफिल्डले हन्टर ४५० को परीक्षण गरेको तस्वीर बाहिर आएको छ ।
हालै मात्र परीक्षणको क्रममा देखिएको हन्टर ४५० प्रडक्शन मोडल भएको अनुमान गरिएको छ । कम्पनीले ल्याउने ४५० सीसी रोडस्टार मोडल हन्टरले ट्रायम्फ ४०० सँग पतिस्पर्धा गर्नेछ । कम्पनीले यो वर्षको दास्रो मध्यसम्ममा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
नयाँ हन्टर ४५० मा हिमालयन ४५० मा भएको शेर्पा इन्जिन प्रयोग हुनेछ । यसमा भएको ४५० सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड एफआईले ८ हजार आरपीएममा अधिकतम ४० पीएस पावर र ५५०० आरपीएममा ४० एनएम टर्क जेनेरेट गर्नेछ । परीक्षणमा देखिएको मोटरसाइकलमा ब्ल्याक अलाय ह्वीलका साथ १७ इन्च टायर रहेको छ । फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन देखिएको छ भने पछाडि मोनोशक सस्पेन्सन रहने छ ।
हन्टर ४५० को राइडिङ पोस्चर अप राइट रहेको छ । यसमा वाइड ह्न्यान्डलबार देख्न सकिन्छ । एलइडी हेडल्याम्प, एलईडी टर्न इन्डिकेटर, डबल च्यानल एबीएस, डिस्क ब्रेक जस्ता फिचर यसमा रहने छन् ।