काठमाडौं । काठमाडौंबाट रौतहटको गौर गइरहेको र बिरगंजबाट काठमाडौं आइरहेको दुई बस चितवनको सिमलतालमा गएको पहिरोमा परेर त्रिशुलीमा खसेको छ । यस घटनामा तीन जना यात्रुले हामफालेर आफ्नो ज्यान जोगाउन सफल भएको कारण घटना चाँडै बाहिर आएको हो ।
रौतहटको देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना यात्रुले बसको झ्यालबाट हामफालेर ज्यान जोगाएका छन् ।
आज बिहान करिब साढे तीन बजेतिर वीरगंजबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमतालमा गएको पहिरोमा परेर बेपत्ता भएको हो । यी दुबै बसमा करिब ६५ जना यात्रु रहेको अनुमान गरिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ । यद्यपि यात्रुहरुको एकिन विवरण आएको छैन ।


