विद्युतीय ट्याक्सीमा सिप्रदीको छलाङ, दैनिक एक हजार ६७० रुपैयाँ किस्ता

काठमाडौं । सिप्रदी ट्रेडिङले विद्युतीय ट्याक्सीको ब्यापारमा राम्रो छलाङ लगाउन सफल भएको छ । ट्याक्सीको रुपमा टाटा एक्सप्रेस-टीको बिक्री ७५० यूनिट हाराहारी पुगेको हो ।

विशेषगरी काठमाडौं उपत्यकामा विद्युतीय ट्याक्सीको माग द्रुत गतिमा बढ्दा कम्पनीले बिक्रीसँगै सर्भिसमा पनि केन्द्रित रहेर काम गर्दै आएको छ । सिप्रदीले ललितपुरको बालकुमारीबाट सेल्स, स्पेयर र सर्भिस सेवा उपलब्ध गराएको छ ।

एकै स्थानमा थ्री एस सेवा उपलब्ध गराएको कम्पनीले बालकुमारीमा नै फास्ट चार्जरको पनि व्यवस्था गरेको छ । बढ्दो ट्याक्सीको उपस्थिति र चालकको सहजताको लागि १५ घण्टा खुल्ला रहने जनाएको छ । कम्पनीले बिहान ६ः३० देखि राती ९ः३० बजेसम्म संचालन हुने कम्पनीले जानकारी दिएको छ ।

यदि, बाटोमा ट्याक्सी बिग्रेर बसेको खण्डमा डेडीकेटेड़ रोडसाइड असिसटेन्सको सुविधा पनि कम्पनीले उपलब्ध गराएको छ ।

विद्युतीय ट्याक्सी संचालनलाई थप सहज बनाउन सिप्रदीले भक्तपुर, गोंगबु र कपनमा पनि फास्ट चार्जर संचालनमा ल्याएको छ । कम्पनीले उपत्यका बाहिर खाँडीचौर र कटारीमा पनि फास्ट चार्जर ट्याक्सीको लागि संचालनमा ल्याउने तयारी गरेको छ ।

उपत्यकाको ठूलो संख्यामा आवत जावत हुने बालाजु बसपार्क नजिकै ट्याक्सी डेडीकेटेड़ सर्भिस सेन्टर पनि बनाइरहेको छ । यसरी विद्युतीय ट्याक्सीको लागि आवश्यक पूर्वाधार निर्माण सिप्रदी निकै आक्रमक परेको देखिन्छ ।

इन्धन हाल्नु नपर्ने, उपत्यकाका विभिन्न स्थानमा चार्जिङ नेटवर्क उपलब्ध र कम्पनीले सहजै सेवा दिदै आएको कारण पुराना ट्याक्सी हटाएर विद्युतीय ट्याक्सीमा चालकहरु आकर्षित भएका हुन् ।

सिप्रदी ट्रेडिङले ३६ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर एक्सप्रेस-टी मोडल बिक्री गर्दै आएको छ । यसलाई किन्ने मानिसले मूल्यको २० प्रतिशत रकम डाउन पेमेन्ट बापत बुझाएर ८० प्रतिशत कर्जा सुविधा लिन सक्नेछन् । कर्जाको लागि सिप्रदीले विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरेको छ ।

मासिक ५० हजार हाराहारी मासिक किस्ता तिरेर एक्सप्रेस-टी ट्याक्सी खरिद गर्न सकिने छ । त्यसका मतलव ट्याक्सीधनीले दैनिक १ हजार ६७० रुपैयाँ किस्ता वापत बुझाउनु पर्ने हुन्छ ।


Back_to_top