काठमाडौं । नेपाली नयाँ वर्षलाई लक्षित गरेर बजारमा हिरो र यामाहाले नयाँ मोटरसाइकल ल्याउने तयारी गरेका छन् । हिरोले एक र यामाहाले ३ मोडलका मोटरसाइकल ल्याउने तयारी गरेका हुन् ।
अहिले बजारमा आउने तयारी भइरहेका यी सबै मोडलका मोटरसाइकल नेपाली बटोमा परिक्षण भइरहेको छ । हिरोको बहुप्रतिक्षित मोटरसाइकल एक्सपल्स २०० फोर भी, यामाहा एफजेडएक्स, आर १५ भी फोर र आर १५ एम मोडलको परिक्षण चलिरहेको छ ।
यामाहाले विगत दुई महिनादेखि यी तीन मोडलको परिक्षण गरिरहेको छ भने, हिरोले दुई हप्तादेखि परिक्षण सुरु गरेको हो । कम्पनीका अनुसार हिरोले चैत महिनासम्ममा एक्सपल्स २०० फोर भी नेपाली बजारमा सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ । यामाहाले भने अझै केही हजार किलोमिटर यसको परिक्षण गर्ने जनाएको छ ।
सबै मोडल २०० सीसीभन्दा तल
यामाहा एफजेड-एक्स १५० रेट्रो डिजाइनमा तयार भएको मोटरसाइकल हो । यसलाई यामाहाले एफजेड–एस भी ३मा आधारित रहेर बनाएको हो । आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले विगत दुई महिनादेखि परिक्षण गरिरहेको रेट्रो लुक मोर्डन टेक्नोलोजीमा आधारित एफजेड-एक्समा गोलो आकारको एलइडी हेडल्याम्प, ब्रान्ड न्यू अल डिजिटल कन्सोल, ब्लुटुथ कनेक्टीभीटी, सिंगल च्यानल एबीएस जस्ता फिचर उपलब्ध छन् ।

यामाहाले यसमा १४९ सीसी क्षमताको एफआई इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले अधिकतम ७२५० आरपीएममा १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।
हिरोको आधिकारीक विक्रेता एनजीएम हिरोले नेपाल ल्याउने तयारी गरेको एक्सपल्स २०० फोर भी हाइवे पर्फमेन्सको लागि उत्कृष्ट बनेर आउन लागेको हो ।

फोर भल्भ इन्जिन प्रयोग भएसँगै यसको पर्फमेन्स निकै सुधार भएको बताइन्छ । साथै, कम्पनीले एक्सपल्स २०० फोर भीलाई तीन नयाँ कलर थप गरेर ल्याएको छ ।
यसको फोर भल्भ इन्जिनले यसको पावर समेत वृद्धि गरेको छ । नयाँ एक्सपल्स २०० फोर भीले १८.८ पीएस पावर र १७.३ एनएम टर्क जेनेरेट गर्छ । नयाँ एक्सपल्सले पुरानोको तुलनामा १ पीएस पावर तथा १ एनएम टर्क धेरै जेनेरेट गर्छ ।

अर्को नेपाल आउन लागेको यामाहा आर १५ भी फोर/आर १५ एम दुबै मोडल समान इन्जिन र फिचर समावेस भएका मोडल हुन् । यी दुबै मोटरसाइकलमा १५५ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड भीभीए इन्जिन पाउन सकिन्छ । उत्तः इन्जिनले अधिकतम १८.४ बीएच पावर र १४.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
यी दुबै मोटरसाइकलमा स्लिपर क्लच तथा क्वीक सिफ्टर, ट्याक्सन कन्ट्रोल, राइडिङ मोड, यामाहा एक्स कनेक्ट फिचर जस्ता फिचर पाउन सकिन्छ ।

