काठमाडौं । म्याग्दीको सदरमुकाम बेनीदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म बस सेवा सुरु भएको छ ।
मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले आजदेखि सिधा बस सेवा सुरु गरेको हो ।
बेनीबाट छुट्ने बस बेनी कालिपुल बासपार्कबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या, आग्रा हुँदै नयाँ दिल्लीसम्म पुग्नेछ ।
मोडर्न इरा टुर्स एन्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीका अनुसार हरेक दिन बिहान बेनीबाट बिहान ६ः ४५ बजे र दिल्लीको सरोजनी नगरबाट साँझ ४ः ०० बजे बस छुट्नेछ ।
बेनी-दिल्ली १४०० किलोमिटर दुरी यात्रा गर्न करिब २७ घण्टा लाग्ने जनाइएको छ । बेनीबाट नयाँ दिल्लीसम्मको प्रतियात्रु भाडादर ५ हजार ४०० रुपैयाँ र नयाँ दिल्लीबाट बेनीसम्मको ३ हजार २०० भारतीय रुपैयाँ भाडादर तोकिएको उनले जानकारी दिए ।
उनले म्याग्दी, मुस्ताङको धार्मिकस्थललाई भारतसँग जोड्न त्यहाँका पर्यटकलाई समेत भित्र्याउन सेवाले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । म्याग्दीको गलेश्वरधाम, पुलहआश्रमका साथै मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीय पर्यटकलाई बस सेवाबाट सहज हुने उनको भनाइ छ ।
यो बस सेवाबाट म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका सर्वसाधारण लाभान्वित हुनेछन् ।

