काठमाडौं । सरकारले गत चालू आर्थिक वर्षको बजेटमा मोटरसाइकलको सीसी अनुसार वर्गिकरण गरि अन्तःशुल्क तथा सडक मर्मत सम्भार दस्तुर निर्धारण गरेको थियो । उक्त वर्गिकरणमा १५० र १६० सीसी इन्जिन क्षमताका मोटरसाइकलको अन्तःशुल्क र तथा सडक मर्मत दस्तुर भिन्न कायम भएको थियो ।
यसलाई सच्याउन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले माग गरेको छ । नाडाले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा १६० सीसी इन्जिन क्षमताका मोटरसाइकललाई पनि १५० सीसी सरह नै अन्तःशुल्क र सडक मर्मत दस्तुर कायम गर्न माग गरेको हो ।
नाडाले नयाँ बजेको सुझावमा भनेको छ ‘१० सीसी र १६० सीसीलाई भिन्न सेगमेन्टमा वर्गिकरण गरि अन्तःशुल्कको वर्गिकरण पनि सोही अनुसार नै गरेको तर उक्त सेगमेन्टको मोटरसाइकललाई बजार मूल्यको आधारमा र प्रयोगको दृष्टिले पनि एउटै भएकोमा १५० र १६० सीसीलाई एउटै वर्गिकरणमा समावेश गर्नु पर्ने अथवा १६० सीसीसम्मको सेगमेन्टलाई अत्यवाश्यक मोटरसाइकल सेगमेन्टको रुपमा हेरिनु पर्ने ।’
यसरी १६० सीसी सेगमेन्टका मोटरसाइकललाई भिन्दै वर्गमा राख्दा लागत बढी भएको नाडाको भनाई छ । यसले गर्दा उपभोक्तले समान मूल्यका मोटरसाइकल महगोमा किन्नु परेको बताएको छ ।
चारपांग्रे सवारी अत्यधिक महंगो भएकाले उपभोक्तालाई सहज र सस्तो मूल्यमा दुईपांग्रे सवारी किन्न पहुँचमा पुगेको थियो । नेपालमा सबैभन्दा धेरै बिक्री हुने मोटरसाइकल पनि १५०÷१६० सीसी सेगमेन्टकै हुन् । नेपाली बजारमा उपलब्ध सबैजसो कम्पनीले यो सेगमेन्टका मोटरसाइकल बिक्री गर्दै आएका छन् ।


