काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्र चल्ने सवारीसाधनमा जीपीएस ट्रयाकिङ सिस्टम अनिवार्य गर्ने भएको छ । महानगर भित्र चल्ने सार्वजनिक यातायातलाई व्यवस्थित गर्न महानगरले यस्तो कानुन बनाएको हो ।
काठमाडौं महानगरपालिकाले पारित गरेको ‘काठमाडौं महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन विधेयक २०७५’ उक्त व्यवस्था गरिएको छ । उक्त विधेयकको परिच्छेद ३ मा सार्वजनिक यातायात सञ्चलन गर्ने संस्था वा कम्पनीको दायित्व अन्तर्गत यात्रुहरु टिकट लिई सार्वजनिक यातायातको साधनमा चढिसकेपछि मोबाइल र कम्प्युटरमा सार्वजनिक यातायातको आगमन तथा रुटहरुको अवस्थितिहरु प्रत्यक्ष देखिने जीपीएस ट्रयाकिङ एप जडान गर्नुपर्ने व्यवस्था गरिएको छ ।
विगतमा पनि सार्वजनिक यातायातमा जीपीएस जडान गर्ने प्रसंगमा छलफल भएको थियो । केही समय अघि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा जीपीएस जडान गर्ने विषयमा दातृ निकायहरुसँग छलफल गरेको थियो ।
समग्र सार्वजनिक सवारीमा जीपीएस जडान गर्ने विषयमा छलफल भइरहँदा काठमाडौं महानगरपालिकाले भने आफ्नो क्षेत्राधिकार भित्र चल्ने सार्वजनिक सवारीमा जीपीएस जडान गर्ने व्यवस्था विधेयकमा गरेको हो ।
जीपीएस जडान भएपछि सार्वजनिक सावरी कहाँ कस्तो अवस्थामा छ भन्ने कुरा सजिलै थाहा पाउन सकिन्छ । यस्तो आवस्थामा सवारीमा हुने दुव्र्यवहारलगायत कुराहरु नियन्त्रण हुनेछ ।

