नामी भिगो ई-२ र ई-२ प्लसमा कति फरक, कुन किन्दा बढी फाइदा ?

काठमाडौं । डोङफेङ मोटर्सको नामी ब्राण्डमा आएको भिगो एसयूभी दुई फरक भेरियन्टमा बिक्रीका लागि उपलब्ध छन् । नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले नामी भिगोलाई ई-२ र ई-टु प्लस भेरियन्टमा बिक्री गर्दै आएको हो ।

मूल्यका हिसाबले यी दुई भेरियन्टमा ३ लाख रुपैयाँको फरक पाउन सकिन्छ । कम्पनीले ई-२ मोडल ३८ लाख ९९ हजार र ई-२ प्लस भेरियन्ट ४१ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

मूल्यमा ३ लाख रुपैयाँ फरक रहेको गाडीमा के-के फरक होला भन्ने जिज्ञासा धेरैमा हुनसक्छ । त्यही जिज्ञासा मेटाउन हामीले यो रिपोर्ट तयार पारेका हौं ।

सबैभन्दा पहिला बाहिरी डिजाइनबाट यसको अन्तर खोजौं । बाहिरी डिजाइनमा मुख्य फरक भनेको ह्वील हो । ई-२ भेरियन्ट १७ इन्चको ह्वील छ भने ई-२ प्लसमा १८ इन्चको ह्वील पाउन सकिन्छ । त्यस बाहेक बाहिरी डिजाइनमा कुनै फरक छैन ।

दोस्रो फरक ब्याट्री साइजमा पाउन सकिन्छ । ई-२ भेरियन्टमा ४४.९४ किलोवाट आवरको ब्याट्री छ । प्लस भेरियन्टमा ५१.८७ किलोवाट आवरको ब्याट्री पाइन्छ । डब्लूएलटीपीका अनुसार रेन्जमा ५० किलोमिटर फरक छ । सानो ब्याट्रीले ३०० र ठूलो ब्याट्रीले ३५० किलोमिटर रेन्ज दिनेछ । डीसी चार्जरको सपोर्ट पनि ई-२ प्लस भेरियन्टमा राम्रो छ । १६७ किलोवाटको चार्जरले १८ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सक्छ । सानो ब्याट्रीलाई भने त्यतिनै चार्ज गर्न ३० मिनेट लाग्नेछ ।

तेस्रो महत्वपूर्ण भिन्नता एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टममा छ । ई-२ भेरियन्टमा एडास फिचर छैन । तर, ई-२ प्लसमा भने लेभल टु एडास फिचर पाउन सकिन्छ । एडास भित्रका लेन डिपार्चर वानिङ, फ्रन्ट कोलिजन वार्निङ, लेन किप एसिस्ट जस्ता फिचर कम मूल्यको ई-२ भेरियन्टमा छैन ।

मुनरुफ चाहिनेको लागि ई-२ छनोटमा पर्दैन । तर, ई-२ प्लसमा मुनरुफ छ । नामी भिगो एक्स्ट्रनल अडियो सिस्टम उपलब्ध एसयूभी हो । त्यसको लागि ई-२ प्लस भेरियन्टमै जानु पर्छ ।

म्युजिकको बिटसँग जोडिएको एम्बियन्ट लाइटको लागि पनि टप भेरियन्ट किन्नु पर्नेछ । साथै, रातिका समयमा चलाउँदा एडाप्टिभ हाइ एण्ड लो बीम हेडलाइट ई-२ मा छैन । प्लस भेरियन्टमा यो सुविधा पाउन सकिन्छ ।

मोटर भने दुवैमा समान ९९ किलोवाटको छ । दुवै भेरियन्टमा सस्पेन्सन पनि एउटै छ । भिगो एसयूभीको अगाडि म्याकफर्सन इन्डिपेन्डेन्ट र पछाडि टोर्सन बीम सस्पेन्सन पाउन सकिन्छ ।

टायर प्रेसर मोनिटरिङ सिस्टम, ब्रेक एसिस्ट, ब्रेक फोर्स डिस्ट्रिब्युसन, हिल स्टार्ट एसिस्ट, एयरब्याग जस्ता फिचर दुवै भेरियन्टमा समान छन् । यस बाहेक ड्यासबोर्ड, सिट, स्क्रीन, स्टेरिङ लगायत अन्य फिचर पनि दुवै भेरियन्टमा समान छन् ।


Back_to_top