काठमाडौं । भारतीय इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटर निर्माता अल्ट्राभोइलेटले आफ्नो नयाँ सवारीमा ‘एआई भ्वाइलेट’ नामक नयाँ भ्वाइस एसिस्टेन्ट सिस्टम प्रयोग गर्ने भएको छ ।
कम्पनीले अमेरिकाको लस भेगासमा आयोजित २०२६ कन्ज्युमर इलेक्ट्रोनिक्स (सीईएस) शोमा ‘एआई भ्वाइलेट’ भ्वाइस एसिस्टेन्ट सिस्टम प्रदर्शन गरेको हो ।
अल्ट्राभोइलेटले अमेरिकी एआई कम्पनी ‘साउन्डहुड एआई’ सँगको सहकार्यमा नयाँ भ्वाइस एसिस्टेन्ट सिस्टम बनाएको जानकारी दिएको छ । यो नयाँ सिस्टम पूरा तयार भइसकेको छैन । हाल दुई कम्पनी यसमा मिलेर काम गरिरहेका छन् ।
‘एआई भ्वाइलेट’ भ्वाइस एसिस्टेन्ट सिस्टम अल्ट्राभोइलेटको बजारमा आउने नयाँ मोडलहरूमा प्रयोग हुने छ । कम्पनीले यो सिस्टम पहिलो पटक अल्ट्राभोइलेटको एलएसआर नयाँ मोडल मार्फत देखाएको हो । मोटरसाइकल सेग्मेन्टको अहिले सम्मकै पहिलो फिचर हो । यस अघि ‘साउण्डहुड एआई’ कम्पनीले हुन्डाई र फिएटका कारहरूका लागि एआई सिस्टम बनाएको थियो ।
आजकल यस्ता एआई फिचरहरू निकै लोकप्रिय मानिन्छन् । हाल बजारमा उपलब्ध केही कारहरूमा यो फिचर पाइन्छ । तर मोटरसाइकलका लागि भने पूर्ण रूपमा नयाँ प्रविधि हो ।

एआई भ्वाइस असिस्ट प्रणालीले राइडरलाई धेरै सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ । यसले गर्दा राइडरले रोकेर डिस्प्ले मेनुमा स्क्रोल गरिराख्नु पर्ने झन्जट हट्ने पनि बताएको छ ।
मोटरसाइकल चलाइरहेको बेलामा राइडरको भ्वाइस मार्फत सम्पूर्ण डाटा, चार्ज स्थिति, ब्याट्री रेन्ज र अन्य राइड डिटेल्सहरू निकाल्ने काम गर्छ ।
साथै, ट्रयाक्सन कन्ट्रोल चेन्ज, एबीएस परिवर्तन, राइड मोड चेन्ज, डिस्प्ले मेनु चेन्ज, रिजेन लेभल अन, नेभिगेसन अन लगायत अन्य धेरै कामहरू भ्वाइसबाटै कन्ट्रोल गर्न सकिन्छ ।
यो प्रणालीले ब्लूटुथ कम्युनिकेटर मार्फत काम गर्ने छ । जसले राइडरका निर्देशनहरू रेकर्ड गरी मोटरसाइकलमा ट्रान्सफर गर्छ ।
अल्ट्राभोइलेटले दुईपाँग्रे सवारीसाधनहरूमा पहिलैदेखि नयाँ नयाँ प्रविधिहरूको विकास गर्ने काम गरिरहेको छ ।

