काठमाडौं । चीनमा उत्पादन भएका विद्युतीय कार नेपाल ल्याउने होडबाजी नै चलिरहेको छ । अहिले स्टार्टअप कम्पनीदेखि पुराना चिनियाँ ब्राण्डका कारहरू नेपालमा उपलब्ध हुन थालेका छन् । त्यसका बाबजूद केही ब्राण्डका चर्चित कारहरू नेपाली बजारमा उपलब्ध भएका छैनन् ।
विश्व बजारमा नै कार उत्पादनमा नाम आउने कम्पनीहरू जिली, डोङफेङ र बीएआईसी ब्राण्डका कार नेपाली बजारमा उपलब्ध हुन सकेका छैनन् । यी ब्राण्डले चीनमा ६ हजार डलरदेखि कै गाडी उत्पादन गरेर बिक्री गर्दै आएका छन् । हाम्रो बजारमा साना ईभीको माग पनि निकै राम्रो रहेको कारण यी ब्राण्ड नेपाल ल्याउन धेरै व्यवसायिक घरानाले इच्छा देखाइरहेका छन् ।
विद्युतीय कार उत्पादनमा यी तीनवटै ब्राण्डले निकै आक्रमक रणनीति बनाएर काम गरिरहेका छन् । त्यसमा पनि जिली कम्पनीले ५ वटा सहायक ब्राण्ड स्थापना गरेर विद्युतीय कार उत्पादनलाई तीव्र्रता दिएको छ ।
जिली कम्पनीले इलेक्ट्रीक कारको लागि जिकर ब्राण्ड बनाएको छ भने भोल्भो, टोयोटा, फक्सवागेन जस्ता ब्राण्डसँग चीनमा संयुक्त लगानीमा उत्पादनहरू बजारमा ल्याइरहेको छ । अहिले जिलीका इलेक्ट्रीक कारको चर्चा चीनदेखि यूरोपसम्म चलिरहेको छ ।
डोङफेङको लगानीमा रहेको डीएफएसके नेपाल आए पनि उसले डोङफेङका उत्पादन नेपाल ल्याएको छैन । नेपालमा इन्डोनेसियामा उत्पादन भएका ग्लोरी सिरिजका दुई मोडल मात्रै उपलब्ध थिए । थप नयाँ गाडी ल्याउने नल्याउने विषयमा आधिकारिक बिक्रेता कोजु नेपाल प्रालि अन्योलमै देखिन्छ ।
बीएआइसी मोटर्स चीनमा एसयूभी उत्पादनमा अग्रणी कम्पनी हो । सुमाग्री ग्रुपले केही यूनिट बीएआइसीका उत्पादन नेपाल ल्याए पनि यसको कुनै पूर्वाधार बनेको छैन । अझ भनौं नेपालमा बीएआइसीका उत्पादन आउन थालेको छैन ।
चिनियाँ ब्राण्डहरू ईभी केन्द्रित भएर उत्पादन गरिरहेका कारण नेपालका धेरै व्यवसायीले यी ब्राण्ड ल्याउन लागि परेका छन् । तर, यी ब्राण्डले नेपालमा व्यवसायिक कारोबार थाल्न भने अझै केही समय लाग्ने देखिन्छ ।

