फिचर र माइलेजमा बढेकाे नयाँ जेनेरेशन ब्रेजा नेपाल आउँदै, यस्तो छ मूल्य

काठमाडौं । मारुती सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्पले आगामी साता भित्र नयाँ एसयूभी नेपाल भित्र्याउने भएको छ । कम्पनीले पछिल्लो समयमा भारतमा लन्च भएको नयाँ जेनेरेशन ब्रेजा नेपाल ल्याउने तयारी अन्तिम चरणमा पुगेको हो ।

नयाँ जेनेरेशन ब्रेजा नेपाल आउने भएसँगै कम्पनीले हाल यसको बुकिङ समेत खुला गरेको छ । यो गाडी माघ अन्तिमबाट बिक्री वितरण सुरू हुने सीजी मोटोकर्प स्रोतले मेरोअटोलाई बतायो ।

पछिल्लो समयमा अधिकांशले रुचाएको यो गाडी नेपाली बजारमा निकै राम्रो संख्यामा बिक्री वितरण हुँदै आएको छ । यसैमा अब कम्पनीले नयाँ जेनेरेशन ब्रेजा थुप्रै नयाँ फिचर थप गर्दै बजारमा आउन लागेको हो । अहिलेको भन्दा महंगो हुने अनुमान गरिएको ब्रेजामा पहिलो पटक सनरुफ समेत दिइएको छ ।

ब्रेजा यसअघि पनि सेग्मेन्टमै सबैभन्दा ठूलो इन्जिन भएको कारण धेरैले मनपराएको मोडल हो । नयाँ जेनेरेशनमा पनि मारुती सुजुकीले यसमा १.५ लिटर, फोर सिलिण्डर इन्जिनलाई निरन्तरता दिएको छ । अहिले थप माइल्ड हाइब्रिड टेक्नोलोजी दिएको कारण यसको माइलेज पहिलेभन्दा धेरै आउने छ ।

इन्जिनको अलावा मारुती सुजुकी ब्रेजामा फ्रन्ट र रियर डिजाइन, इन्टेरियर र सुरक्षा फिचरमा विशेष परिमार्जन भएर आउन लागेको छ । भारतमा करिब ६ महिना अघि नै विक्री सुरू भएको नयाँ ब्रेजा आयात प्रतिबन्धको कारण नेपाल आउन पाएको थिएन ।

मारुती सुजुकीले ब्रेजामा ९ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पुस स्टार्टरस्टप बटन, हेड–अप डिस्प्ले र फ्ल्याट बटम स्टेयरिङ, ६ वटासम्म एयरब्याग दिइएको छ ।

नयाँ एलईडी हेडल्याम्प र टेलल्याम्प, नयाँ फगल्याम्प हाउजिङ र सिल्भर कलरको स्किड प्लेट, नयाँ अलोय ह्वील, ठूलो रुफरेल, शार्क फिन एन्टेना, डुअल टोन कलर अप्सनको कारण नयाँ ब्रेजा निकै फिचर लोडड हुनेछ ।

बजारमा टाटा नेक्सन, हुन्डाई भेन्यू, किया सोनेट, एक्सयूभी ३०० जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा हुने ब्रेजाको मूल्य भने ५७ लाख ९० हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ ।


Back_to_top