यस्ता छन् नेपाली बजारमा आउन सक्ने नयाँ इलेक्ट्रीक कार

काठमाडौं । इलेक्ट्रीक सवारी सधानलाई पर्यावरणीय सन्तुलन, प्रदुषण नियन्त्रणको उपाय तथा फोसिल्स फ्युलबाट चल्ने सवारीको विकल्पको रुपमा लिइएको छ । पछिल्लो समय संसारभरका विभिन्न अटोमोबाइल्स कम्पनी इलेक्ट्रीक सवारी साधनको उत्पादनमा केन्द्रित भएका छन् ।

अन्य देशमा जस्तै, नेपाली बजारमासमेत इलेक्ट्रीक मोविलिटीको प्रभाव विस्तारै देखापर्न थालेको छ । उसोत सरकारले पनि इलेक्ट्रीक सवारसिाधनलाई बढवा दिने नीति नै अंगालेको छ । यसैबीच २०२० सम्ममा नेपाली बजारमा आउन सक्ने इलेक्ट्रीक कारहरु यस प्रकार रहेका छन् । 

एमजी इ जेडएस

एमजी मोटर्सको नेपालको लागि आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले एमजीको इलेक्ट्रीक जेडएस एसयूभी नेपाली बजारमा ल्याउने तयारी गरेको छ । यसमा उपलब्ध इलेक्ट्रीक मोटरले १४८ बीएचपी पावर उत्पादन गर्छ । 

यसमा ४५ किलोवाटको ब्याट्री लगाइएको छ भने यसले ३५० किलोमिटर भन्दा बढीको रेन्ज प्रदान गर्ने बताइएको छ । यसको मूल्य करिब ५० लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ । 

महिन्द्रा इ–केयूभी १००

महिन्द्राले २०१९को अन्त्यतिर भारतीय बजारमा सार्बजनिक गर्ने भएको इलेक्ट्रीक  ह्याचब्याक इ–केयुभी १००मा ४० किलोवाट इलेक्ट्रीक मोटर र १५.९ किलोवाटको ब्याट्री प्याक दिइएको छ । यसले एक पटकको फुलचार्जमा १२० किलोमिटर रेन्ज प्रदान गर्ने छ । 

महिन्द्रका इलेक्ट्रीक उत्पादनलाई हाल नेपाली बजारमा अग्नी इनर्जीले बिक्री वितरण गर्दै आईरहेको छ । यस्तो नयाँ इलेक्ट्रीक कार केयूभी १०० पनि कम्पनीले नेपाली बजारमा उतार्ने छ ।

निसान लिफ इभी 

निसान लिफको इलेक्ट्रीक भर्सनमा ४० किलोवाटको ब्याट्री पावर लगाइएको कम्पनीले जनाएको छ । यसले फुल चार्जमा ३८५ किलोमिटर रेन्ज प्रदान गर्नेछ । यो संसारभर ४ लाख युनिट बिक्री भएको पहिलो इलेक्ट्रीक कार हो । 

नेपाली बजारमा पायोनियर मोटो कर्पले ल्याउने तयारी सुरु गरेको लिफमा दिइएको इलेक्ट्रीक मोटरले १५० बीएचपी पावरका साथै ३२० एनएम टर्क उत्पादन गर्छ । यसको नेपाली बजारमा आउँदा मूल्य करिब ७० लाख हारहारीमा पर्ने अनुमान लगाउन सकिन्छ । 

टाटा अल्ट्रोज इभी 

टाटाले भारतीय बजारमा अल्ट्रोज इभी ल्याउने तयारी गरेको छ । टाटाले बनाउने अल्ट्रोज प्रिमियम इलेक्ट्रीक ह्याचब्याक कार हुनेछ । यो कारले एक पटक फूलचार्ज गर्दा २ सयदेखि २३० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा सिप्रदी ट्रेडिङले बिक्री वितरण गर्दै आएको टाटाको उत्पादन भारतीय बजारमा सार्वजनिक भएको केही महिना भित्रै नेपाली बजारमा समेत उपलब्ध हुने अनुमान गरिएको छ । 

मारुती सुजुकी वागेन आर इभी 

मारुती सुजुकीको वागेनआर इभी पनि अर्को वर्ष सार्बजनिक हुने भएको छ । यसले फुल चार्जमा २०० किलोमिटर रेन्ज प्रदान गर्ने आँकलन गरिएको छ । यसको अन्य फिचरको बारेमा कम्पनीले कुनै कुरा बाहिर ल्याएको छैन । 

नेपाली बजारमा सिजी मोटो कर्पले मारुती सुजुकीका उत्पादन बिक्री वितरण गर्दै आएको छ । भारतीय बजारमा करिब ५० वटा इलेक्ट्रीक वागेनआरको प्रटोटाईप परिक्षण भइरहेको बिभिन्न रिपोर्टले देखाएको छ । 

रेनो सिटी केजेडई 

चीनमा बिक्री हुने तयारीमा रहेको रेनोको उत्पादन केजेडइ सिएमएफ प्लाटफर्ममा आधारित रहेर उत्पादन भएको छ । नयाँ युरोपिएन ड्राइभिङ्ग साइकलमा निर्माण भएको यो मोडलले फुल चार्जमा २५० किलोमिटर रेन्ज प्रदान गर्ने जनाइएको छ । 

यो मोडललाई रेनोको नेपालको आधिकारीक बिक्रेता एड्भान्स अटोमोवाइलले नेपाली बजारमा सन् २०२० भित्र सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ । 

फोर्ड एस्पायर इभी 

फोर्डको पहिलो इलेक्ट्रीक कारको रुपमा फोर्ड एस्पायरपनि आगामी वर्ष भारतमा सार्वजनिक हुने भएको छ । यसमा २५ किलोवाटको ब्याट्री प्याक दिइएको छ । जसले, ८२ एचपी पावर उत्पादन गर्छ भने, फुल चार्जमा १५० किलोमिटर रेन्ज प्रदान गर्ने अनुमान गरिएको छ ।

फोर्डका उत्पादन नेपाली बजारमा जिओ फोर्डले बिक्री वितरण गर्दै आइरहेको छ । 


Back_to_top