नयाँ इन्जिन, क्रसओभर डिजाइन र प्रिमियम क्याविन सहित आउँदै सेलेरियो

काठमाडौं । मारुती सुजुकीले नयाँ जेनेरेशन सेलेरियो आगामी वर्षको सुरुवातमा लञ्च गर्ने तयारी गरिरहेको छ । सुरुमा यहि दिपावलीको अवशरमा बिक्री सुरु गर्ने जनाइएपनि कोभिड १९ का कारण भएको लकडाउन लगायतका समस्या देखाउँदै कम्पनीले यसलाई पर धकेलेको हो ।

मारुती सुजुकीको इन्ट्री लेवल ह्याचव्याक सेलेरियो सन् २०१४ मा पहिलो पटक बजारमा आएको मोडल हो । अब नयाँ जेनेरेशन मोडल भने २०२१ को पहिलो क्वाटरमा सार्वजनिक हुने छ ।

हाल भारतका विभिन्न स्थानमा यसको नयाँ जेनेरेशन मोडलको परिक्षण भइरहको तस्विरहरु बाहिर आइरहेका छन् । मिडियामा आएका ‘स्पाइ इमेज’का अनुसार नयाँ जेनेरेसन सेलेरियो पहिलाको भन्दा केहि ठूलो र क्रसओभर डिजाइनमा देख्न सकिन्छ ।

लामो ह्वीलवेस र बढेको ग्राउण्ड क्लियरेन्सले पहिलेको तुलनामा नयाँ सेलेरियो ठूलो हुने सहजै अनुमान गर्न सकिन्छ । यसको आकारले गर्दा क्रसओभर एसयूभीको लुक्समा देखिने पक्का भएको छ । यसमा प्रोजेक्टर हेडल्याम्प, एलइडी डिआरएल, नयाँ डिजाइनको अलोय ह्वील, टर्निङ लाइट सहितको ओआरभीएम तथा सुधारिएको फ्रन्ट तथा रियर बम्पर रहने अनुमान गरिएको छ ।

यसको इन्टेरियसमा पनि व्यापक परिवर्तन गरिएको छ । जसमा आपल कार प्ले तथा एन्ड्रोइड अटो सपोर्ट गर्ने ७ इन्चको स्मार्ट प्ले इन्फोटेन्मेन्ट सिस्टम दिएको छ । अन्य फिचरमा इबिडी सहितको एबिएस ब्रेकिङ सिस्टम, डिउल फ्रन्ट एयरव्याग, रिभर्स क्यामरा, सिटबेल्ड रिमान्डर तथा रियर पार्किङ सेन्सर आदि रहेका छन् ।

सेलेरियोमा पहिला रहेको १.० लिटर र नयाँ १.२ लिटरको चार सिलिण्डरको के१२ पेट्रोल इन्जिन रहने अनुमान गरिएको छ । तर, १.० लिटर इन्जिन भने तीन सिलिण्डरको हुने छ ।

यसमा रहने १.२ लिटर इन्जिनले ८३ बीएच पावर र ११३ एनएम टर्क तथा सानो इन्जिनले ६८ बीएच पावर र ९० एनएम पिक टर्क उत्पादन गर्नेछ । दुबै ५ स्पीड म्यानुअल र ५ स्पीड एएमटी गियरबक्स उपलब्ध हुने छ ।


Back_to_top