आगामी महिना नेपाल आउँदै ‘महिन्द्रा थार’, साना एसयूभी किन्नेलाई पेट्रोल इन्जिनले तान्छ

काठमाडौं । जनवरी २०२१ मा महिन्द्राको चर्चित नयाँ जेनेरेशन थार नेपाल आउने पक्का भएको छ । कम्पनी स्रोतका अनुसार अंग्रेजी नयाँ वर्षको अवसर पारेर जनवरीमा यसलाई नेपालमा सार्वजनिक गरिने छ ।

दुई महिना अघिबाट भारतमा बिक्री सुरु भएको नयाँ जेनेरेशन थारले बिक्रीमा नयाँ रेकर्ड बनाइरहेको छ । भारतमा अहिले थार बुकिङ गर्ने ग्राहकले ९ महिनापछि मात्रै गाडी डेलिभरी पाउने बताइएको छ । यस्तोमा निर्यात कोटाबाट थार नेपाल आउन लागेको महिन्द्रा स्रोतले जानकारी दिएको छ ।

विक्रीमा सफलता हात पार्दै गएको थारले केहि दिनअघि भएको ग्लोवल एनक्यापको क्र्यास टेष्टमा फोर स्टार रेटिङ पाउन सफल भएको छ । थारले एडल्ट र चाइल्ड दुबैको सुरक्षामा अब्बल सावित हुँदै फोर स्टार रेटिङ प्राप्त गरेको थियो ।

महिन्द्रा थारमा सुरक्षाको लागि एयरव्याग, एबीएस, इबीडी, सिटवेल्ट, एसबीआर, आईएसओ फिक्स चाइल्ड सिट दिइएको छ । एड्भेञ्चर ड्राइभिङ मन पराउने ग्राहकलाई लक्षित गरेर यसअघिको मोडल बजारमा ल्याइएको भएपनि थारको नयाँ जेनेरेशन मोडल निकै पृथक डिजाइनमा आएको छ ।

नयाँ जेनेरेशन थार अफरोड ड्राइभिङ मन पराउने तथा पारिवारीक कारको रुपमा प्रयोग गर्नेको समेत रोजाईमा पर्न थालेकोले यसमा ग्राहक झुम्मिएका हुन् । नयाँ जेनेरेशन थार निकै आकर्षक डिजाइन र थप लग्जरी फिचरका साथ आएकाले नेपालमा पनि यसले निकै राम्रो बजार पाउने अनुमान गरिएको छ ।

नेपालमा पनि सब फोर मिटर सेग्मेन्टमा सबैभन्दा बढी गाडी विक्री हुने गरेको छ । यस्तोमा नयाँ जेनेरेशन थारको लोकप्रियता बढ्न सक्ने छ ।

नयाँ जेनेरेशन थारलाई महिन्द्राले दुई इन्जिन अप्सनमा बजारमा ल्याएको छ । संम्भवत नेपालमा पनि दुबै इन्जिनमा थार आउने छ । यसमा महिन्द्राको २.२ लिटर एमहक डिजल र २.० लिटर टर्बो पेट्रोल इन्जिन दिइएको छ ।

महिन्द्राले पहिलो पटक थारमा पेट्रोल इन्जिन दिएको हो । यसमा रहेको डिजल इन्जिनले अधिकतम १३० बीएच पावर र ३०० एनएम टर्क प्रदान गर्छ भने, पेट्रोल इन्जिनले १५० बीएच पावर र ३२० एनएम टर्क प्रदान गर्छ ।


Back_to_top