काठमाडौं । विद्युतीय कार बिक्रेता बीच कडा टक्कर हुने देखिएको छ । विद्युतीय कारमा बिक्रेताहरुले एक अर्काभन्दा धेरै फरक कुरा दिन नसक्ने भएकाले पनि प्रतिस्पर्धा कडा हुन लागेको हो ।
अहिले विद्युतीय कार बिक्री गर्ने ब्राण्डहरू बीवाइडी, एमजी, चांगान, चेरी, लीपमोटर, डोङफेङ नामी जस्ता चल्तीका ब्राण्डले एकपछि अर्को नयाँ मोडल बजारमा ल्याउँदै छन् । यस्तोमा प्रतिस्पर्धा पनि यिनै ब्राण्डका बीचमा हुने देखिन्छ ।
भर्खरै सुरू भएको नयाँ वर्षमा दशैं अगाडि नै उपत्यकामा दुई वटा अटो एक्स्पो आयोजना हुँदैछ । खासगरी यिनै चल्तीका ब्राण्डले नयाँ मोडल लन्च गर्ने र अटो शो केन्द्रित अफरहरू पनि ल्याउने हुन् ।
अहिले बजारमा रहेका चिनियाँ ब्राण्डका अलाव अन्य कम्पनीले मूल्यमा प्रतिस्पर्धा गर्ने देखिँदैन । भारतमा उत्पादन भएका कारहरू मूल्यको प्रतिस्पर्धामै छैनन् । त्यसैले चिनियाँ कार बिक्रेताले छिट्टै चाडपर्व स्कीम दिनेछ ।
‘आन्तरिक तयारी गरिरहेका छौं । साउन २० गतेसम्ममा स्कीमको तयारी पूरा गर्नु पर्नेछ । साउन २१ गते भित्र स्कीम चालउने छौं,’ एक गाडी बिक्रेताले भने ।
अहिले नाइमा मोबिलिटी एक्स्पोमा सहभागिता जनाउने अधिकांश कम्पनीले स्कीमको आन्तरिक तयारी गरिरहेका छन् । अटो एक्स्पो आगामी साउन २१ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ ।
कस्तो छुट आउला ?
अधिकांश कम्पनीले आयातकर्ता मूल्य घटेर गाडी आएका छन् । उनीहरूले प्रकाशित खुद्रा बिक्री मूल्य घटाउनेभन्दा नगद छुट, वार्षिक कर, बीमा, एशोसरिज, एक्सचेन्ज बोनस जस्ता स्कीम लोभलाग्दो बनाएर ल्याउन लागेका छन् ।
‘दशैंमा उपभोक्ता पनि धेरै अफर पाइन्छ भनेर बस्नु भएको छ । अर्को कुरा कम्पनीहरूले दिने अफरलाई गाडी किन्ने ग्राहकले अवसरको रूपमा लिने भएको कारण उत्कृष्ट अफर ल्याउनुको विकल्प छैन । सक्दो राम्रो अफर ल्याउन प्रयास सबैले गर्छन्’, एसपीजी अटोमोबाइलका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले मेरोअटोसँग भने ।
विगतमा जस्तै स्कीमहरू यस वर्ष पनि आउने बताउँदै लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल मेनेजर दीपक थपलिया भन्छन, ‘अघिल्ला वर्षभन्दा चाँडै स्कीम आउँछ । अटो शोलाई ध्यानमा राखेर कम्पनीहरूले योजना बनाइरहेका छौं । हामी पनि स्कीम ल्याउने तयारी गर्दैछौं ।’
होला प्राइसवार ?
गतवर्षको अटो शोमा एमजी र सेरेस बीच मूल्य घटाउने प्रतिस्पर्धा चलेको थियो । बजेट अगाडि ल्याएका गाडी बिक्री सक्ने दबाबमा रहेका कम्पनीले आकर्षक छुट दिए । साथै, नयाँ आएका ब्राण्डले पनि उपभोक्तालाई राम्रै स्कीम दिएका थिए ।
यस वर्षपनि बजेट अगाडि ल्याइएका थुप्रै गाडी बिक्री सक्नु पर्ने दबाबमा कम्पनीहरू छन् । यस्तोमा आगामी अटो शोमा मूल्य घटाउने प्रतिस्पर्धा चल्छ वा चल्दैन अहिल्यै एकिन साथ भन्न सक्ने अवस्था छैन ।

