सुजुकी एक्सेसको नयाँ भेरियन्ट नेपाल आउँदै

काठमाडौं । सुजुकीले नेपाली बजारमा एक्सेस स्कुटरको नयाँ भेरियन्ट ल्याउने भएको छ ।

नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले एक्सेस १२५ स्कुटरको नयाँ भेरियन्ट उपलब्ध गराउने भएको हो ।

सुजुकीको भारतमा निर्माण भएको एक्सेस १२५ स्कुटरको नयाँ भेरियन्ट नेपाल ल्याउने तयारी भइरहेको कम्पनी स्रोतले बताएको हो ।

भारतमा एक्सेस १२५ स्कुटरको राइड कनेक्ट टीएफटी एबीएस एडिसन, राइड कनेक्ट एबीएस एडिसन, राइड कनेक्ट टीएफटी एडिसन, राइड कनेक्ट एडिसन, स्पेसल एडिसन र स्ट्याण्डर्ड एडिसन गरी छुट्टाछुट्टै ६ भेरियन्ट उपलब्ध छ ।

यी मध्य नेपालमा भने कुनै एक भेरियन्ट मात्रै ल्याउन लागेको कम्पनी स्रोतले बताएको छ । कुन भेरियन्ट हो भन्ने अहिलेसम्म खुलाएको छैन । सुजुकीको एक्सेस १२५ भारतमा निकै चर्चित मानिएको मोडल हो । यो भारतमा स्कुटर सेग्मेन्टमा धेरै बिक्री हुने मोडलमा पर्छ ।

एक्सेसमा १२४ सीसीको सिंगल सिलिण्डर, एयर कुल्ड, फोर स्ट्रोक, टु भल्ब, एसओएचसी, एफआई इन्जिन छ । यो इन्जिनले अधिकतम ८.७ पीएस पावर तथा १०.२ एनएम टर्क जेनेरेट गर्छ ।

स्कुटरमा सीभीटी ट्रान्समिसन सिस्टम, भेरियन्ट अनुसार ड्रमब्रेक र डिस्कब्रेक अप्सन, सिंगल च्यानल एबीएस, अलोय ह्वील, ट्युबलेस टायर, फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा स्विङआर्म सस्पेन्सन सेटअप, एलईडी लाइट, कलरफुल डिजिटल डिस्प्ले लगायतका फिचरहरू छन् ।

हाल नेपालमा भने कम्पनीले सुजुकीको एक्सेस १२५ को बीएस ६ भेरियन्ट बिक्री गरिरहेको छ । नेपाली बजारमा यसको मूल्य २ लाख ६५ हजार ९०० रुपैयाँ रहेको छ । नयाँ भेरियन्टको मूल्य अहिलकोभन्दा १० देखि १५ हजार रुपैयाँ बढ्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top