ट्राफिकले बुझायो चोरी भएका ५३ मोटरसाइकल र स्कुटर

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५३ वटा मोटरसाइकल र स्कुटर फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।

बिहीबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रामशाहपथमा आयोजित एक कार्यक्रमका बीच ३१ वटा मोटरसाइकल र २२ वटा स्कुटर सम्बन्धित धनीलाई ती सवारी साधन हस्तान्तरण गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा ती सवारी साधन केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ ।

ट्राफिकले काठमाडौं उपत्यकाका गोंगबु, नयाँ बसपार्क, बालाजु, सीतापाइला, रानीबारी, बौद्ध, बालकुमारी, कोटेश्वर, काँडाघारी, पुतलीसडक लगायत स्थानबाट ती सवारी साधन फेला पारेको हो ।

ट्राफिकले चालु आर्थिक वर्षमा मात्रै ३३९ थान स्कुटर र मोटरसाइकल फेला पारी धनीलाई बुझाएको छ । चालु आवमा सवारी हराएको भन्दै १ हजार ५३१ निवेदन परेको कार्यालयले जनाएको छ ।

ट्राफिकले आर्थिक वर्ष २०८०/८१ मा ४१७ वटा र २०८१/८२ मा ५०३ वटा दुईपाङ्ग्रे सवारी फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो ।

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।


Back_to_top