काठमाडौं । नियोले एकैदिन डेढ लाख ब्याट्री स्वापको रेकर्ड बनाएको छ । चिनियाँ इलेक्ट्रीक कार उत्पादक कम्पनी नियोले चिनियाँ नयाँ वर्षको अवसर चलिरहेको बिदाको समयमा एकै दिन झण्डै डेढ लाख ब्याट्री स्वाप गरेर रेकर्ड राखेको हो ।
केही दिन अघि मात्र नियोले १० करोड ब्याट्री स्वापको माइलस्टोन पूरा गरेको थियो । नियोले चीनभर व्यापक ब्याट्री स्वाप स्टेशन स्थापना गरेर सर्भिस दिँदै आएको छ ।
नियोको चार्जिङ तथा ब्याट्री स्वाप स्टेशन देशभर ८ हजार ६०० स्थानमा संचालनमा रहेको छ भने डेडिकेटेड स्वाप स्टेशन ३ हजार ७०० स्थानमा संचालनमा छ ।
नियोले ५५० सहर र देशका विभिन्न हाइवेहरूमा समेत स्वाप स्टेशन निर्माण गरेर संचालन गर्दै आएको छ । चिनियाँ नयाँ वर्षको समयमा लामो छुट्टि हुने हुँदा यात्रा गर्ने संख्या धेरै हुन्छ । त्यसकारण फेब्रुअरी १५ को दिन १ लाख ४६ हजार ६४९ युनिट ब्याट्री स्वाप भएको हो ।
फेब्रुअरी १६ मा चिनियाँ सरकारको यातायात मन्त्रालयले जारी गरेको ‘स्प्रिङ फेस्टिभल राजमार्ग संजाल संचालन विश्लेषण प्रतिवेदन’ अनुसार यात्रुको चाप बढेसँगै ब्याट्री स्वाप गर्नेको संख्या ह्वातै बढेको हो ।
उक्त प्रतिवेदनका अनुसार बिदाको समयमा कुल सवारी अवागमनको करिब २२ प्रतिशत न्यू इनर्जी भेहीकल प्रयोग हुने अनुमान छ । दैनिक औषत रूपमा १ करोड २० लाखभन्दा धेरै न्यू इनर्जी भेहीकल सडकमा गुड्ने छन् ।
यो प्रक्षेपण हेर्दा नियोको हालै कायम भएको यो ब्याट्री स्वाप कीर्तिमान छिट्टै तोडिन सक्नेछ । यसले चीनमा सबैभन्दा व्यस्त यात्रा अवधिमा ब्याट्री स्वाप स्टेसनलाई वास्तविक र सबैभन्दा ठूलो परीक्षणमा राख्नेछ ।

