काठमाडौं । नियोले आफ्नो नयाँ सब ब्राण्ड फायरफ्लाइको पहिलो मोडल आगामी अप्रिल १९ तारिखबाट बिक्री सुरु गर्ने भएको छ । त्यसैले कम्पनीले नयाँ ब्राण्डमा आउन लागेको फायरफ्लाइ ह्याचव्याकको प्रचारप्रसार तिब्र बनाएको हो ।
कम्पनीले विभिन्न ५ कलर अप्सनमा फायरफ्लाइ ह्याचव्याक ल्याउने भएको छ । जसमा बैजनी, हरियो, बेज, सेतो र खैरो कलर छन् । नियोले उक्त कुराको जानकारी ‘विबो’बाट गराएको हो ।
सन् २०२४ को डिसेम्बर २१ मा नियोले फायरफ्लाइ ब्राण्ड घोषणा गरेको थियो । विशेषगरी युरोपियन बजारमा बीएमडब्लूको मिनी र मर्सिडीजको स्मार्टसँग प्रतिस्पर्धा गर्नेगरी फायरफ्लाई ह्याचव्याक आउन लागेको हो ।
सब फोर मिटर साइजमा उपलब्ध फायरफ्लाइको लम्बाइ ४००३ एमएम, चौडाइ १७८१ एमएम र उचाइ १५५७ एमएम छ । यसमा २६१५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । कारमा ह्वील भने १८ इन्चको पाउन सकिन्छ ।

यसमा सनवाडाले उत्पादन गरेको ४२.१ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । यसलाई अधिकतम पावर १०५ किलोवाटको मोटरले चलाउने छ ।
नियोका अध्यक्ष डेनियल जीनका अनुसार फायरफ्लाइका लागि नयाँ ब्याट्री स्वापिङ स्टेशन निर्माणको काम चलिरहेको छ । त्यसको लागि नियोको पाँचौ पुस्ताको स्वापिङ सेन्टरहरु बन्नेछन् ।
‘फायरफ्लाइ’ विद्युतीय ह्याचव्याक कारको अगाडि र पछाडि नै युनिक डिजाइन पाउन सकिन्छ । तीनवटा सर्कल लाइट रहेको कारको टर्निङ रेडियस केबल ४.७ मिटर हुनेछ । निकै आकर्षक डिजाइनमा तयार भएको फायरफ्लाइ मोडलको डिजाइन बीएमडब्लू र फोर्डमा काम गरेका कृस तोमासनले गरेका हुन् ।
हेर्दा ठिकठाकको साइजमा देखिएको विद्युतीय कारको ट्रङ्क क्षमता अगाडि ९२ लिटर र अधिकतम बुट स्पेश १२५० लिटरसम्म हुनेछ । यसको बढी स्ट्रक्चर पनि ८३.४ प्रतिशत हाइ स्ट्रेन्थ स्टीलले बनेको छ । सुरक्षाका लागि यसमा एडास सिस्टम सहित ९ वटा एयरव्याग उपलब्ध हुनेछन् ।


