ईभीमा क्रान्ति ल्याउँदै नियो, नेपालमा कस्तो रणनीति बनाउला ?

काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी नियोले ब्याट्री स्वापिङ टेक्नोलोजी मार्फत ईभीमा नयाँ क्रान्ति छेडेको छ । चीनमा चलिरहेको नयाँ वर्षको छुट्टी मनाउने क्रममा नियोका १ लाख ३६ हजार ७४८ युनिट कारले एकै दिन ब्याट्री परिवर्तन गरे ।

नियोको सब ब्राण्ड ओन्भोका ग्राहकलाई कम्पनीले राजमार्गहरुमा निःशुल्क ब्याट्री स्वापिङ सुविधा उपलब्ध गराउने घोषणा गरेको थियो । कम्पनीको घोषणा अनुसार ८ हजार ओन्भो ब्राण्डका उपभोक्ताले ब्याट्री स्वापिङ सुविधा उपभोग गरे ।

सधैं पैसा तिरेर स्वापिङ सुविधा उपभोग गरिरहेका नियोका ग्राहकलाई कम्पनीले नयाँ वर्षको उपहार दिएको जनाएको छ । कम्पनीले जनवरी २२ देखि फेब्रुअरी १२ तारिखसम्मको लागि यो सुविधा दिएको हो ।

नियोले चीनभर ३ हजार १०६ स्वापिङ स्टेशन चलाई रहेको छ । जहाँ फेब्रुअरी ३ तारिखको दिन हरेक घन्टा ५ हजार ६९८ वटा सवारी साधनले ब्याट्री स्वापिङ गराएका थिए । नियोले चीन बाहिर युरोपमा ५९ स्थानमा ब्याट्री स्वापिङ स्टेशनहरु निर्माण गरेर संचालन गरिरहेको छ ।

जनवरी महिनामा नियोले दिएको सर्भिसबाट धेरै मानिस उत्साहित भएका छन् । कम्पनीले जनवरीमा १३ हजार ८६३ युनिट कार बिक्री गरेको छ । जसमा नयाँ ब्राण्डा ओन्भोको हिस्सा ५ हजार ९१२ युनिट छ ।

नेपालमा कस्तो रणनीति होला ?

नियोले बजार बिस्तार रणनीतिलाई आक्रमक बनाएको छैन । उसको उपस्थिति भएको बजारमा ब्याट्री स्वापिङ टेक्नोलोजी प्रबेश गरेको छ । नेपालमा पनि नियो ब्राण्ड आउने लभगभ तय भएको छ । तर, कुन ब्यवसायीक घरानाले ल्याउँछ एकिन भएको छैन ।

नोभेम्बर २०२५ सम्ममा नियो फायरफ्लाई नेपालमा बिक्री सुरु हुने अनुमान गरिएको छ । यस्तोमा युरोपमा जस्तै नेपालमा पनि स्वापिङ सेन्टर निर्माण हुन्छ वा हुन्न अहिल्यै भन्न सकिने अवस्था छैन ।


Back_to_top