काठमाडौं । नेपालमा ४०० सीसी क्षमताका मोटरसाइकलहरुको लोकप्रियता बढ्दै गएको छ । सरकारले ठूलो सीसी क्षमताका मोटरसाइकलहरुको अन्तःशुल्क तथा सडक निर्माण दस्तुर घटाएसँगै सेग्मेन्टकै ग्रोथ राम्रो देखिएको हो ।
केही वर्ष अगाडि ४०० सीसीका मोटरसाइकल राख्न मोटै रकम तिर्नु पर्ने अवस्था आएको थियो । तर, नेपालमै एसेम्बल सुरु भएसँगै फेरी कम मूल्यमा ठूला मोटरसाइकल किन्न सकिने वातावरण बनेको हो ।
ठूला र कम मूल्यको मोटरसाइकल खोज्नेलाई हामीले उत्कृष्ट ३ मोडल सिफारीस गरेका छौं । जसमा रोयल इनफिल्ड, बजाज र ट्रायम्फका उत्पादन हुन् ।
नेपाली बजारमा उपलब्ध ४०० सीसी सेग्मेन्टमा बजाजको डोमिनार, रोयल इनफिल्डको स्क्रयाम र ट्रायम्फ स्पीड ४०० भ्यालू फर मनी मोडल हुन् ।
यी तीनवटै मोडल ७ लाखभन्दा कम मूल्यमा उपलब्ध छन् । हाई पर्फर्मेन्ससँगै आधुनिक फिचरहरु भएका कारण पनि यी मोडलले चर्चा कमाउन सफल भएका हुन् । यी तीन मोडलमा के के पाउन सकिन्छ भनेर हामीले यहाँ चर्चा गरेका छौं ।
डिजाइन
तीन वटै मोटरसाइकलको आ-आफ्नै छुट्टै बिशेषता छन् । आकर्षक ग्राफिक्स डिजाइन, मस्कुलर लुक्स, हल्का तौल र प्रायः सबै डाइमेन्सन सेक्सन तीनै मोडलमा उत्कृष्ट पाउन सकिन्छ ।
बजाज डोमिनारमा लार्ज स्कल्पटेड फ्युल ट्याकं, लार्ज बडी फ्रेम, मल्टि लेभल बडी इलेमेन्टस्, सिंगल पिस ह्यान्डलबार र स्प्लीट सिट दिइएको छ ।

ट्राइम्फ मोटरसाइकलमा क्लासिकसँगै मोर्डन इलेमेन्टस्हरु छन् । आल्मूनियम स्वीङआर्म, हल्का तौल फ्रेम र सब फ्रेमको प्रयोगमा यो मोटरसाइकल निर्माण भएको छ ।
स्क्रयाम्बलर डिजाइनमा रहेको रोयल इनफिल्ड स्क्रयाम्बलरमा पनि स्कल्पटेड प्mयुल ट्याङ्क, एडिस्नल साइड प्यानलहरु, हल्का तौलको बडी फ्रेम र टू लेभल सिंगल पिस सिट पाउन सकिन्छ ।
इन्जिन र पर्फर्मेन्स
कम्पनीले रोयल इनफिल्ड स्क्रयाम्बलर ४११ मोटरसाइकलमा सिंगल सिलिन्डर, फोर स्ट्रोक, एयर कूल्ड, इएफआई इन्जिन छ । यस इन्जिनले अधिकतम २४.३८ पीएस पावर र ३२ एनएम टर्क जेनेरेट गर्छ । ५ स्पीडको गियरबक्स रहेको यस मोटरसाइकलको टप स्पीड १३० किलोमिटर प्रतिघण्टा छ ।
बजाज डोमिनारमा कम्पनीले ३७३.३ सीसीको सिंगल सिलिन्डर, लिक्वीड कूल्ड, फोर स्ट्रोक, फोर भल्ब, डिओएचसी, एफआई इन्जिन दिएको छ । यो इन्जिनले अधिकतम ४० पीएस पावर तथा ३५ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलको टप स्पीड १३७ किलोमिटर प्रतिघण्टा छ । यसमा ६ स्पीडको गियरबक्ससँगै स्लीपर र असिस्ट क्लच पाउन सकिन्छ ।
केही समय अघि मात्रै नेपाल भित्रिएको ट्रायम्फ स्पीड मोटरसाइकलमा ३९८.१५ सीसी क्षमताको युरो ५ कम्प्लाइन्ट, सिंगल सिलिन्डर, लिक्वीड कूल्ड, फोर भल्ब, डिओएचसी, एफआई इन्जिन छ । उक्त इन्जिनले अधिकतम ४० पीएस पावर तथा ३७.५ एनएमको टर्क जेनेरेट गर्छ । यसको टप स्पीड भने १६७ किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा पनि ६ स्पीडको गियरबक्स र टर्क एसिस्ट क्लच पाउन सकिन्छ ।
माइलेज
बजाज डोमिनार र ट्रायम्फ स्पीडमा १३ लिटरको प्mयुल ट्याङ्क दिइएको छ । रोयल इनफिल्ड स्क्रयाममा १५ लिटरको प्mयुल ट्याङ्क छ ।

कम्पनीले दाबी गरको माइलेज अनुसार १ लिटर पेट्रोलबाट स्क्रयाम ३५ किलोमिटर, डोमिनार २५ किलोमिटर र स्पीड २५ देखि २९ किलोमिटरसम्म चलाउन सकिने छ ।
सस्पेन्सन र टायर
स्पीड ४०० मा युएसडी फोर्क र प्रिलोड एड्जस्टमेन्ट ग्याँस मोनोसक सस्पेन्सन सेटअप रहेको छ । स्क्रयाम ४११ मा टेलिस्कोपिक फर्क र लिंकेज मोनोसक सस्पेन्सन सेटअप र डोमिनार ४०० मा युएसडी फर्क र मल्टी स्टेप नाइट्रोक्स मोनोसक सस्पेन्सन सेटअप रहेको छ ।
तीनवटै मोटरसाइकलमा डबल डिस्क ब्रेकसँगै डबल च्यानल एबीएस र ट्युबलेस टायर पाउन सकिन्छ । स्क्रयाम ४११ मा डबल पर्पस स्पोक ह्वील छ । डोमिनार र स्पीडमा अलोय ह्वील दिइएको छ ।

फिचर
ट्रायम्फ स्पीडमा पुरा एलइडी लाइट, डिआरएल र सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल रहेको छ । यसमा युएसबी चार्जिङ पोर्ट, इमोबिलाइजर, स्वीचेबल ट्रयाक्सन कन्ट्रोल र राइड बाइ वायर थ्रोटल जस्ता फिचरहरु छन् ।
बजाज डोमिनारमा पनि पुरा एलइडी लाइट सिस्टम, एलइडी इन्डिकेटर्स, डबल नोट एग्जस्ट, स्टाइलिस आल्मुनियम मिरर र डाइनामिक रिभर्स एलसीडी डबल कन्सोल जस्ता फिचरहरु दिइएका छन् ।
रोयल इनफिल्ड स्क्रयाममा भने एलइडी हेडलाइट, युनिक एलइडी टेललाइट, गोलाकार रियर भ्यू मिरर र पुरा नयाँ एनालग इन्स्ट्रुमेन्ट कन्सोल सहितको डिजिटल मिटर जस्ता फिचर छन् ।
यी तीनै मोटरसाइकलमा किल स्वीचसहितको इलेक्ट्रीक सेल्फ स्टार्ट सिस्टम मात्रै रहेको छ ।
मूल्य
नेपालमा बजाज र टायम्फ दुबै मोटरसाइकलको आधिकारिक बिक्रेता गोल्छा ग्रुप अन्तर्गत रहेको हंसराज हुलासचन्द एण्ड कम्पनी हो । यस कम्पनीले नेपाली बजारमा ट्रायम्फ स्पीड ४०० मोटरसाइकलको मूल्य ६ लाख ३९ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ । बजाज डोमिनार ४०० भने ६ लाख १३ हजार ९०० रुपैयाँ तोकेर बिक्री गरिरहेको छ ।
रोयल इनफिल्डको आधिकारिक बिक्रेता कम्पनी अल्फा अटोमोटिभले भने स्क्रयाम ४११ मोटरसाइकलको मूल्य ६ लाख ६० हजार रुपैयाँ राखेको छ ।

