भारतमा ईभी बिक्री : टाटाको नजिक पुग्यो एमजी, रफ्तार बढाउँदै हुन्डाई

एजेन्सी । जनवरीमा भएको भारत मोबिलिटी एक्स्पोमा नयाँ नयाँ इलेक्ट्रीक भेहिलक प्रदर्शन भएको थियो । जुन हिसाबले कम्पनीहरूले ईभी देखाएका थिए, त्यस अनुसार बिक्री भने पाउन सकेका छैनन् ।

ठूलो बजारमा हुने मासिक सानो संख्याको बिक्रीले चर्चा नपाए पनि एक महिनामा बिक्री भएको ११ हजार २२९ युनिट राम्रै संख्या हो । गत वर्षको जनवरीमा ८ हजार २७२ युनिट मात्रै इलेक्ट्रीक भेहिकल बिक्री भएको थियो ।

भारतमा सबैभन्दा धेरै ईभी मोडल बिक्री गर्ने टाटा मोटर्सले जनवरीमा पनि आफनो वर्चश्व कायम राख्न सफल भएको छ । टाटा मोटर्सले जनवरीमा ५ हजार ३७ यूनिट इलेक्ट्रीक कार बिक्री गरेको हो । तर, अघिल्लो वर्षको जनवरीको तुलनामा भने १३ प्रतिशतले घटेको हो ।

यस वर्ष टाटालाई पछ्याउँदै एमजी मोटर्सले जनवरीमा ४ हजार २२५ युनिट ईभी बिक्री गरेको छ । टाटा र एमजी बीचको फरक मात्र ८१२ युनिटको छ । एमजीले अघिल्लो वर्षको जनवरीमा केबल १ हजार २०३ युनिट बिक्री गरेको थियो । नयाँ मोडल विन्डसर बजारमा आएसँगै एमजीको बिक्रीमा बढोत्तरी भएको हो ।

जनवरी महिनाको बिक्रीमा महिन्द्रा तेस्रो धेरै बिक्री हुने ब्राण्ड बनेको छ । महिन्द्राले पछिल्लो समय देखाएको बीई-६ र एक्सईभी ९ ईको बिक्री सुरु नभए पनि एसयूभी ४०० ईभी ६८६ यूनिट बिक्री गरेको छ ।

चौथोमा कोरियन ब्राण्ड हुन्डाई परेको छ । भारतको दोस्रो ठूलो उत्पादक क्रेटा ईभीसँगै बल्ल मुन्टो उठाउने अवस्थामा पुगेको हो । कम्पनीले जनवरीमा ३२१ युनिट ईभी बिक्री गरेको छ । यो संख्या अघिल्लो जनवरीको १७० यूनिटभन्दा ८९ प्रतिशतले बढी हो । हुन्डाईले जनवरीको १७ तारिकमा क्रेटा ईभी सार्वजनिक गरेको थियो ।

क्रेटा ईभीको कारण हुन्डाईका ईभीहरूको बिक्री संख्या राम्रो हुने अनुमान गरिएको छ । हुन्डाईले क्रेटाको साथै प्रिमियम क्रसओभर आयोनिक ५ पनि भारतमा बिक्री गर्दै आएको छ ।

भारतीय बजारमा पाँचौं धेरै बिक्री भएको ईभी बीवाइडीको हो । भारतमा बीवाइडीले एटो-३ एसयूभी, सिल सेडान र ईम्याक्स ७ एमपीभी मोडल बिक्री गर्दै आएको छ ।

छैटौं नम्बरमा धेरै ईभी फ्रेन्च कम्पनी सिट्रोनले भारतमा बनाएको ईसीथ्री भएको छ । कम्पनीले जनवरी महिनाभर २६९ युनिट ईसीथ्री बिक्री गरको थियो ।

त्यसैगरी, लग्जरी ब्राण्डहरू  बीएमडब्लूले १८१ युनिट, मर्सिडिज बेन्जले ९५ युनिट, किया इण्डियाले ४७ युनिट, भल्भोले २७ युनिट, अउडीले १८ युनिट, पोर्सले ६ युनिट, रोल्स रोयसले ४ युनिट र जेएलआरले १ युनिट ईभी बिक्री गरेको छ ।


Back_to_top