काठमाडौं । निसानको लागि नेपालको आधिकारीक वितरक पायोनियर मोटोकर्पले निशान किक्सलाई नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ ।
कम्पनीले भारतीय बजारमा बिक्री सुरु भएको करिब २५ दिनपछि निशान किक्सलाई नेपाली बजारमा बिक्री सुरु गरेको हो । आज काठमाडौंमा उक कार्यक्रमको आयोजनागरी कम्पनीले आफ्नो पछिल्लो एसयूभी किक्सको बिक्री वितरण सुरु गरेको हो ।
कम्पनीले किक्सको सुरुवाति मूल्य ४७ लाख ९९ हजार र टप भेरियन्टको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
‘द इन्टेलिजन्ट एसयूभी’ एसयूभी स्लोगनको साथ किक्सलाई बजारमा ल्याएको छ । डिजेलमा ३ भेरियन्ट र पेट्रोलमा २ भेरियन्टसहित किक्स नेपाली बजारमा ५ भेरियन्टमा उपलब्ध भएको छ ।
कम्पनीले किक्समा डिजेल र पेट्रोल दुबै भेरियन्टमा १.५ लिटरको इन्जिन दिएको छ । यसमा दिइएको १४९८ सीसी क्षमताको पेट्रोल इन्जिनले १०६ पीएस पावर र १४२ एनएम टर्क जेनेरेट गर्छ भने डिजेल इन्जिनले ११० पीएस पावर र २४० एनएम टर्क जेनेरेट गर्छ ।
निशानले किक्समा स्ट्यान्डर्ड फिचरको रुपमा सबै भेरियन्टमा ड्यूल फ्रन्ट एयरव्याग, ईबीडीसहितको एबीएस, आईएसओफिक्स चाइल्ड सिट माउन्ट दिएको छ । यसको टप भेरियन्टमा साइड–एयरव्याग, ईएसपी र हिल–स्टार्ट असिस्ट, ३६० डिग्री क्यामराको फिचर रहेको छ ।
यसमा रहेको अन्य फिचरहरूमा एलईडी प्रोजेक्टर हेडल्याम्प, रेन्सेन्सिङ्ग वाइपर, कुल्ड र इलूमिनेटेड ग्लोभ–बक्स, क्रूज कन्ट्रोल र ८ इन्चको एन्ड्रोइड अटो तथा एप्पल कार–प्ले सपोर्ट गर्ने इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।
गाडीको डाइमेन्सको कुरा गर्दा यसको लम्बाई ४३८४ एमएम रहेको छ भने, चौडाई १८१३ एमएम, उचाई १६५६ एमएम र ह्वीलवेस २६७३ एमएम रहेको छ । कम्पनीले यसमा २१० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।
कम्पनीले पेट्रोल भेरियन्ट एक्सएलको मूल्य ४७ लाख ९९ हजार राखेको छ भने एक्सभी भेरियन्टको मूल्य ५२ लाख ९९ हजार तोकेको छ ।
त्यसैगरी डिजेल भेरियन्टमा एक्सएल भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रहेको छ भने, एक्सभी भेरियन्टको मूल्य ५६ लाख ४९ हजार तोकेको छ । कम्पनीले डिजेलमा टप भेरियन्टको रुपमा एक्सभी प्रिमियमको मूल्य ५९ लाख ९९ हजार तोकेको छ ।


