निसान लिफ अर्को सातासम्म नेपाल आउने, मूल्य ६० लाख

काठमाडौं । निसानको आधिकारीक वितरक पायोनियर मोटोकर्पले निसानको पहिलो विद्युतीय कार लिफ अर्को सातासम्म नेपाल ल्याउने भएको छ । कम्पनीले लिफको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर ४५ दिनअघि बाटै बुकिङ लिइरहेको छ ।

अहिले पनि लिफ बुकिङ गर्न चाहने ग्राहकले २ लाख रुपैयाँ तिरेर बुकिङ गर्न सक्ने छन् ।

बुकिङ गरेका ग्राहकलाई अगस्ट अन्तिमसम्ममा गाडी डेलिभरी दिनेगरी पायोनियर मोटोकर्पले जनाएको थियो । सम्भवत अगस्ट अन्तिम वा सेप्टेम्बर पहिलो सातामा डेलिभरी दिने छ ।

निसान लिफको एक मात्र भेरियन्टमा नेपाल आउने छ । नेपाल आउने लिफमा ४० किलोवाट आवरको व्याट्री र ११० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ ।

निसान लिफलाई एक पटकको फुल चार्जमा ३६३ किलोमिटर गुडाउन सकिने कम्पनीले जनाएको छ । तर, सडकको अवस्था, वातावरण जस्ता विषयले यसको रेञ्ज निर्धारण हुने हुँदा करिब ३०० किलोमिटर रेञ्ज आउने अनुमान गर्न सकिन्छ ।

कारमा व्याट्री बचतको लागि विभिन्न तीन ड्राइभिङ मोड उपलब्ध रहेको छ । ईको मोडमा कार चलाउदा सामान्यभन्दा १० प्रतिशत बढी रेञ्ज आउने कम्पनीले दाबी गरेको छ ।

यसमा दिइएको व्याट्रीलाई घरायसी विद्युतवाट ३ किलोवाट क्षमताको एसी चार्जरले चार्ज गर्दा करिब १६ घन्टा लाग्ने छ भने, ६ किलोवाट चार्जर प्रयोग गर्दा ८ घन्टामा फुलचार्ज गर्न सकिने छ । यसलाई डिसी फास्ट चार्जरले चार्जगर्दा ८० प्रतिशतसम्म चार्ज गर्न ६० मिनेट लाग्ने छ ।


Back_to_top