काठमाडौं । नेपाली युवाहरुको रोजाइमा २०० सीसी क्षमताका मोटरसाइकल पर्न थालेका छन् । कुनै समयम १२५ र १५० सीसी क्षमताको मोटरसाइकल खोज्ने युवाहरु अहिले २०० सीसी क्षमताको मोटरसाइकल खोज्न थालेका छन् ।
पावरफुल मोटरसाइकलमा देखिएको युवा क्रेजका कारण अटोमोबाइल आयातकर्ता कम्पनीहरुले पनि पावरफुल र मस्कुलर मोटरसाइकल ल्याउन थालेका छन् । पछिल्लो समय २०० सीसी क्षमताको नयाँ मोटरसाइकल उत्पादन पनि बढ्दै गएको छ ।
बजारमा २०० सीसी सेग्मेन्टको धेरै मोटरसाइकल रहेका छन् । जसमा हिरो एक्स्ट्रीम २०० आर, टीभीएस अपाचे आरटीआर २०० ४ भी, बजाज पल्सार एनएस २००, केटीएम ड्यूक २००, हिरो एक्सपल्स २००, होन्डा हर्नेट २.० जस्ता मोडल नेपालमा विक्री हुँदै आएको छ ।
यो सेग्मेन्टमा उत्पादन भएका मोटरसाइकल डिजाइन, लुक्स र पावरको लागि उत्कृष्ट मानिन्छन् । युवा लक्षित भएर आएका यस्ता मोटरसाइकलमा धेरै कलर भेरिएन्ट र ड्यूलटोन अप्सनमा उपलब्ध रहेका छन् ।
२०० सीसी सेग्मेन्टमा आउने मोटरसाइकलको माइलेज पनि निकै राम्रो हुने गरेको छ । यी मोटरसाइकलले ४५ किलोमिटर प्रतिलिटरसम्म माइलेज दिन्छन् ।
पावर धेरै युवाहरुको पहिलो रोजाई हो । अहिले यो सेग्मेन्टमा उपलब्ध मोटरसाइकलले १७ देखि २४ बीएचसम्म पावर प्रदान गर्ने छन् । त्यसैले यसलाई उत्कृष्ट पफरमेन्स सेग्मेन्टसमेत भनिन्छ ।
लामो दुरीमा यात्रा गर्नेहरुकोे रोजाईमा यस्ता मोटरसाइकलहरु पर्ने गरेका छन् । यी मोटरसाइकल चलाउन निकै आरामदायी हुन्छन् । सुरक्षाका हिसाबले पनि यी मोटरसाइकल राम्रो रहेको छ । चौडा टायरको प्रयोग र एबीएस जस्ता फिचरले २०० सीसीका बाइक निकै चर्चित रहेका छन् ।
यस्ता मोटरसाइकलको मर्मत खर्च र पार्टस्को मूल्यपनि धेरै महंगो छैन । मूल्यका हिसावले ३ लाख ५० हजारदेखि ४ लाख ५० हजार हाराहारीमा किन्न सकिन्छ ।

