काठमाडौं । इलेक्ट्रीक स्कुटरमा देखिएको समस्या समयमै समाधान नगरेपछि भारतमा उत्पादक कम्पनीका सीईओलाई पक्राउ पूर्जी जारी गरिएको छ ।
दक्षिण गोवा उपभोक्ता विवाद निवारण आयोगले दुईपाँग्रे इलेक्ट्रीक उत्पादक ओलाको संस्थापक तथा सीईओ भाविश अग्रवाललाई जमानतयोग्य पक्राउ पूजी जारी गरेको हो ।
ओलाका ग्राहक २८ वर्षे एक युवकले आफूले किनेको स्कुटरमा बारम्बार समस्या आइरहँदा कम्पनीले सन्तोषजनक समाधान नदिएको भन्दै आयोगमा उजुरी गरेका थिए ।
उजुरीकर्ताका अनुसार उनले १६ अगस्ट २०२३ मा ओला एसवान प्रो सेकेण्ड जेन स्कुटर १ लाख ४७ हजार भारतीय रुपैयाँमा खरिद गरेका थिए। डेलिभरीको केही समय पछिदेखि नै स्कुटरको मोटरबाट अनावश्यक आवाज आउने र टचस्क्रीन बारम्बार रिबुट गर्नुपर्ने समस्या देखिएको थियो ।
पटक पटक गुनासो गरेपछि स्कुटर मर्मतका लागि ओलाको मोर्मुगांवस्थित स्टोरमा पुर्याइएको थियो। मर्मतपछि १८ हजार ६२७ भारतीय रुपैयाँ खर्च देखाइए पनि समस्या यथावत् नै रह््यो । त्यसपछि अर्को ब्लूटुथ कनेक्टिभिटी सम्बन्धी नयाँ समस्या थपिएको उजुरीमा उल्लेख छ।
उक्त उजुरीपछि आयोगले ओलाका सीईओ अग्रवाललाई ४ फेब्रुअरीमा व्यक्तिगत रूपमा उपस्थित भई उजुरीकर्ताको स्कुटरको हालको अवस्था, लामो समयदेखि मर्मत तथा डेलिभरी नहुनुको कारण र समग्र घटनाबारे स्पष्टीकरण दिन नोटिस जारी गरेको थियो। अग्रवालले भने यस नोटिसलाई वेवास्ता गरे ।
नोटिस पठाउँदा पनि कम्पनीले बेवास्ता गरेपछि ओलाको सीईओ अग्रवाल विरुद्ध आयोगले जमानतयोग्य पक्राउ पुर्जी जारी गरेको छ। पूर्व सूचना हुँदाहुँदै पनि आयोग समक्ष उपस्थित नभएको कारण उक्त आदेश जारी गरिएको आयोगले जनाएको छ। यसअघि आयोगले तोकेको मितिमा सीईओ अग्रवाल उपस्थित नभएपछि आयोगले कडा कदम चालेको हो।
आयोगले बेंगलुरु प्रहरीलाई अग्रवाललाई २३ फेब्रुअरी बिहान १०ः३० बजे आयोगमा उपस्थित गराउन निर्देशन दिएको छ । यो प्रकरण उपभोक्ता अधिकार र कम्पनीको जवाफदेहिता सम्बन्धी महत्वपूर्ण उदाहरण बन्न सक्ने देखिएको छ।
उजुरीकर्ताले ओला कम्पनीलाई स्कुटर किन्दा परेको पूरा मूल्य १ लाख ४७ हजार रुपैयाँ फिर्ता र एक्स्ट्रा ५० हजार रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् ।

