शर्त तोकेर सार्वजनिक सवारीको दर्ता खुलाइँदै

काठमाडौं । सरकारले ४ महिनादेखि बन्द गरेको सार्वजनिक सवारी साधनको दर्ता खुलाउने भएको छ । यसअघि मालवाहक सार्वजनिक सवारीको दर्ता खुलाएको यातायात व्यवस्था विभागले अब यात्रुवाहक सवारीको पनि दर्ता खुलाउने तयारी गरेको हो ।

विभागले गत जेठ ७ गते सार्वजनिक हित एवं सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने भन्दै देशभर सार्वजनिक सवारीको दर्ता रोकेको थियो ।

यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुषालले यात्रुवाहक सार्वजनिक सवारीको दर्ता खुलाउने तयारी भइरहेको बताए । उनले यसबारे पूर्वाधार विकास मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए ।

‘यसअघि मालवाहक सवारीको दर्ता खुलाइसकेका छौं । अब यात्रुवाहक सवारीको दर्ता खुलाउन मन्त्रालयसँग छलफल भइरहेको छ । केही दिन भित्रै निर्णय होला,’ उनले मेरोअटोसँग भने ।

उनले पूर्ववतः अवस्थाको जस्तो सबै सवारीको नभई सीमित सार्वजनिक सवारीको दर्ता खुलाउने तयारी रहेको बताए । उनका अनुसार लामो दुरीका ठूला सवारी मात्रै, विद्युतीय सवारी मात्रै, उपत्यका बाहेक वा ट्याक्सी बाहेकका सवारीको दर्ता खुलाउने विषयमा छलफल भइरहेको उनले बताए । यद्यपि, यही भन्ने टुंगो नलागेको उनले बताए ।

‘पहिलाको जस्तै सबै सार्वजनिक सवारीको दर्ता खुल्दैन । केही शर्त तोकिन्छ । लामो दुरीको मात्रै वा विद्युतीय मात्रै । अथवा काठमाडौं उपत्यका बाहेक वा ट्याक्सी बाहेक लगायत विकल्पमा छलफल भइरहेको छ,’ उनले भने ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गत शुक्रबार सार्वजनिक सवारीमा अब विद्युतीय सवारी मात्रै दर्ता गर्ने सरकारको योजना रहेको बताएका थिए । त्यसैले अहिले कम्तीमा १४ सिट माथिका विद्युतीय सवारीको दर्ता खुलाउने सम्भावना रहेको मन्त्रालय स्रोतले बतायो ।

४ महिनादेखि सार्वजनिक सवारी दर्ता रोकिएपछि व्यवसायीले दर्ता खुलाउन माग गर्दै आएका थिए ।दर्ता रोकिँदा दशैंका लागि समेत बस अभाव हुने उनीहरूको भनाइ थियो ।


Back_to_top