जोखिम न्यूनीकरण गर्न ट्राफिकद्धारा १२ स्थानमा सहायता कक्ष संचालन

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान-२०८२ संचालन गरेको छ ।

प्रहरीले बाढी पहिरोका कारण सडक अवरुद्ध भई अप्रिय घटना घट्नुका साथै जनधनको क्षति समेत हुन सक्ने भएकाले प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरणका लागि नागरिक सहायता कक्षबाट संचालन गरेको हो ।

यस अभियान अन्तर्गत काठमाडौँ उपत्यकाबाट छुट्ने लामो तथा मध्यम दुरीका सवारी साधनका चालक, परिचालक तथा यात्रुहरुको सहजताका लागि १२ स्थानमा नागरिक सहायता कक्ष संचालन गरिरहेको छ ।

उपत्यकाको नयाँबसपार्क, कलंकी, नागढुङ्गा, बल्खु, फर्पिङ, कोटेश्वर, भक्तपुर, चापागाउँ, साँखु, टोखा, तिनपिप्ले र भिमढुंगा गरी १२ स्थानमा नागरिक सहायता कक्ष संचालन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सहायता कक्षामा काठमाडौं उपत्यका बाहिरका जिल्लाको सडकको अवस्था बुझी चालक, परिचालक तथा यात्रुलाई जानकारी गराउने, बाढी पहिरोबाट सडक अवरुद्द भएमा वैकल्पिक सडकहरुका बारेमा जानकारी गराउने, लामो दुरीका सवारी साधनमा दुई जना चालक राखे नराखेको चेकजाँच गर्ने, लामो दुरीमा यात्रा गर्ने यात्रुहरुलाई अनिवार्य टिकट लिएर यात्रा गर्न अनुरोध गर्ने काम भइरहेको छ ।

त्यस्तै, सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु तथा मालसामान राखेको पाईएमा कारबाही गरी क्षमता अनुसारको बात्र र मालसामान राख्न लगाउने, उपत्यकाका सबै नाकाबाट बाहिरिने सवारी साधन तथा यात्रुहरुको संख्याको अभिलेख राख्ने, वर्षातको समयमा यात्रा गर्दा सडक अवरुद्द हुन गई रोकिनुपर्ने अवस्था आउनसक्ने भएकाले आवश्यक औषधि, ड्राइफ्रुट्स, पानी लगायत राख्न अनुरोध गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

 


Back_to_top