एजेन्सी । विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलका सह-संस्थापक पान जियानले परम्परागत शब्द ‘ईभी’ (इलेक्ट्रीक भेहिकल)को सट्टा नयाँ शब्द ‘ईआइभी’ (इलेक्ट्रीक इन्टेलिजेन्ट भेहिकल) भन्न सुझाएका छन् ।
जियानले स्वीट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा उक्त विचार राखेका हुन् । उनले यसलाई प्रस्तावको रूपमा राख्दै आई अक्षरले बुद्धिमानीलाई प्रतिनिधित्व गर्ने दाबी गरे ।
‘चीनको विद्युतीय सवारी साधनको बजारमा भएको द्रुत वृद्धि ‘विद्युतीय र बुद्धिमान’को एकीकरण हो । विद्युतले बुद्धिमत्तालाई सम्भव बनाउँछ । त्यसैले त यसअघि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनले दिन नसकेको सुविधा विद्युतीय साधनले दिइरहेका छन्,’ पान जियानले भने ।
न्यू इनर्जी भेहिकलमा चीनले गरेको प्रगति र त्यसबाट प्राप्त अनुभवका आधारमा चीन भित्र ईआईभीको चर्चा सुरू भएको बताइन्छ । आफ्नो अनुभवको आधारमा चिनियाँ उत्पादकहरूले नयाँ भेहिकलसँगै नयाँ-नयाँ टेक्नोलोजीको विकासमा काम गरिरहेका छन् ।
जियानको तर्कसँग सहमत हुँदै विद्युतीय सवारी साधन उद्योगको अनुसन्धान गर्ने कम्पनी ‘रो मोशन’का विश्लेषक जोई झाङले पनि चीनमा ईआईभी शब्द विस्तारै प्रयोगमा आउन थालेको बताए । चिनियाँ कार निर्माताहरूले बजारमा प्रतिस्पर्धा कायम राख्न उत्कृष्ट साधन र सफ्टवयर उत्पादनलाई तीव्रता दिएका छन् । यो प्रतिस्पर्धा थप तीव्र हुनेछ ।