काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकेको केही स्थानमा पार्किङ शुल्क उठाएको पाइएमा सेवाग्राहीले कल गरेर रिपोर्ट गर्न मोवाइल नम्बर सार्वजनिक गरेको छ । उपत्यकाको पार्किङ व्यवस्थापन गर्न महानगरले मोवाइल नम्बर सार्वजनिक गरेको हो ।
महानगरपालिकाको आर्थिक ऐन २०८० ले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ मल, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीबाट सवारी पार्किङ गरे वापत शुल्क लिन पाउने छैनन् । यदि यी स्थानमा शुल्क लिएको पाइएमा ९८५१०–५१६१० मा तत्काल सम्पर्क गरेर गुनासो समेत दर्ता गर्न पाइने व्यवस्था गरेको हो ।
महानगरपालिकाले निजी स्वामित्वको घरजग्गामा व्यावसायिक रुपमा सञ्चालन हुने पार्किङको मूल्य समेत यसअघि नै तोकेको थियो । महानगरपालिकाले न्यूरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्गलगायतका भित्री सहरी क्षेत्रमा सवारी पार्किङका लागि फरकै मूल्य तोकेको छ ।
यस क्षेत्रमा पार्किङ गरेवापत २ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म १५ रुपैयाँ र प्रति घण्टा २५ रुपैयाँ कायम गरिएको छ । त्यसपछि हरेक १५ मिनेटको ५ रुपैयाँ अतिरिक्त तिर्नु पर्ने हुन्छ । त्यसैगरी ४ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म ५० रुपैयाँ र प्रति घण्टा ८० रुपैयाँ कायम गरिएको छ । त्यसपछि हरेक १५ मिनेटको १५ रुपैयाँ अतिरिक्त चार्ज लाग्ने छ ।
माथि उल्लेख गरिएका बाहेकका महानगरपालिका भित्रका स्थानमा २ पाङ्ग्रे सवारी साधन पार्किङ गरेवापत प्रतिघण्टा १५ रुपैयाँ, ४ पाङ्ग्रेका लागि ४० रुपैयाँ र ४ पाङ्ग्रेभन्दा ठूला सवारीका लागि प्रति घण्टा १०० रुपैयाँ कायम गरिएको छ ।
महानगर भित्र संचालित निजी स्वामित्वका पार्किङ क्षेत्रमा महानगरपालिकाले दिएको स्वीकृतको पार्किङ चिन्ह अनिवार्य प्रयोग गरेको र सूचना पाटी राखिएको हुनुपर्ने उल्लेख छ ।
उक्त सूचना पाटीमा पार्किङ दर्ता नम्बर, पार्किङसम्बन्धी विवरण र शुल्क उल्लेख भएको हुनुपर्नेछ । पार्किङ शुल्क उठाउँदा डिजिटल प्रणालीबाट अनिवार्य विलिङ्ग गर्नु पर्नेछ । यसको विवरण नियमित रुपमा महानगरपालिकामा पेश गर्नु पर्नेछ ।
यस्तै अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनहरुलाई पार्किङ शुल्क लिन पाइने छैन । आपतकालीन सेवाका सवारी साधन र महानगरपालिकाले तोकेको अन्य सवारी साधनलाई निःशुल्क पार्किङ्गको व्यवस्था गरिएको छ ।
निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले महानगरपालिकाबाट पूर्वअनुमति लिनु पर्ने व्यवस्था गरेको छ ।