काठमाडौं । बजारमा अहिले सर्वाधिक चर्चा हुने मोटरसाइकल एड्भेन्चर मोटार्ड सेग्मेन्ट हो । चिल्ला बाटो होस् वा खराब बाटो दुबै किसिमका बाटामा उच्च पफर्मेन्स हुने भएको कारण यसको लोकप्रियता बढ्दै गएको हो ।
प्रिमियम एड्भेन्चर मोटरसाइकलका ग्राहकको आवश्यकता पुरा गर्न आइरन मंकले नयाँ मोटरसाइकल बिक्री सुरु गर्ने भएको छ । पाँच दिनपछि साउन २० गतेबाट नेपालमा बिक्री सुरु हुन लागेको ३१० सीसी क्षमताको एड्भेन्चर टूरर मोटरसाइकल आगामी नाडा अटो शो २०२३ को मुख्य आकर्षण बन्ने अनुमान गरिएको छ ।
‘हामीले नाडा अटो शो २०२३ लाई ध्यानमा राखेर जोन्टेस ब्राण्डका अन्य दुई मोडल पनि बजारमा ल्याउने तयारी गरेका छौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
आइरन मंकले सार्वजनिक गर्ने तयारी गरेको जोन्टेस जीटी ३१० टीले बीएमडब्लू जी ३१० जीएस, येज्दी एड्भेन्चर, केटीएम ३९० एड्भेन्चर जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ । यसको मूल्य ९ लाख हाराहारी पर्ने कम्पनीको भनाइ छ ।
जोन्टेस जीटी ३१० टीमा ३१२ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले ३५ पीएस पावर तथा ३० एनएम टर्क जेनेरेट गर्छ । यसमा बोश्च कम्पनीको एफआई सिस्टम रहेको छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
यो मोटरसाइकलमा बोश्चले नै उत्पादन गरेको एबीएस, डबल डिस्क ब्रेक, एल एलइडी लाइट, वाटर कुलिङ सिस्टम, कि–लेस कन्ट्रोल, टीएफटी डिस्प्ले, यूएसबी पोर्ट जस्ता फिचर पाउन सकिन्छ ।

