काठमाडौं । बैंक तथा वित्तिय संस्थाले लगाउने ब्याजदर र प्रकाशित गर्ने ब्याजदर फरक फरक गर्ने गरेका छन् । अहिले सबै वाणिज्य बैंकहरूले आफ्नो आधारदरमा ४.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर अटो कर्जाको ब्याजदर प्रकाशित गरेका छन् ।
कुनै समय बैंकहरूको प्रकाशित ब्याजदर १८ प्रतिशतसम्म पुगेकोमा गत फागुन यता बैंकिङ प्रणालीमा तरलता सुधार आएसँगै ब्याजदर घट्न थालेको हो । अहिले प्रकाशित ब्याजदर १२ देखि १५ प्रतिशतसम्म रहेको छ ।
नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर पनि महिनैपिच्छे परिवर्तन गर्न पाउने व्यवस्था गरेसँगै बैंकहरूले ब्याजदर पनि महिनैपिच्छे परिवर्तन गर्न थालेका हुन् ।
केही महिना अघिसम्म अटो कर्जाको ब्याजदर १८ प्रतिशतसम्म थियो । उच्च जोखिमभारका कारण बैंकहरूले कर्जा दिन समेत चासो देखाएका थिएनन् । अहिले २५ लाखसम्मको कर्जामा जोखिमभार १०० प्रतिशतमा झरेको कारण कर्जा विस्तारमा पनि सुधार देखिन थालेको हो ।

ब्याजदर केही घट्न थाले पनि अटो बजार भने सुस्त नै छ । समग्र अर्थतन्त्रमा आएको संकुचनका कारण अटो बजार पनि प्रभावित बनेको छ । त्यसैले बैंकहरूसँग मिलेर गाडी बिक्रेताले स्कीम संचालन गरिरहेका छन् ।
बैंकहरूको आधिकारिक वेबसाइटमा प्रकाशित ब्याजदर अनुसार सवारी कर्जामा सबैभन्दा कम ब्याजदर कृषि विकास बैंक छ । कृषि विकास बैंकले आधारदरमा २ प्रतिशत प्रिमियम जोडेर १२.१ प्रतिशत ब्याजदर तोकेको हो ।
यस्तै, सरकारी स्वामित्वकै नेपाल बैंकको आधारदर ८.३९ प्रतिशत छ भने त्यसमा ४.५० प्रतिशतसम्म प्रिमियम थपेर १२.९ प्रतिशत ब्याजदर सवारी कर्जा दिने उल्लेख गरेको छ ।
सबैभन्दा उच्च ब्याजदर हिमालयन बैंकको १५.९ प्रतिशत छ । यस बैंकले १०.९२ प्रतिशत आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर सवारी कर्जा उपलब्ध गराइने जनाएको छ ।
यसैगरी, प्राइम कमर्सियल, कुमारी, एनएमबी, सानिमा, ग्लोबल, प्रभु र एनआइसी एसीया बैंकले आधारदरमा ५ प्रतिशतसम्म प्रिसमयम थपेर १५ प्रतिशतसम्म सवारी कर्जाको ब्याजदर सार्वजनिक गरेका छन् ।
सिटिजन्स, नेपाल एसबीआई, नेपाल इन्भेष्टमेन्ट मेगाा, एभरेष्ट र सिद्धार्थ बैंकको सवारी कर्जाको ब्याजदर १४ प्रतिशतसम्म छ । राष्ट्रिय वाणिज्य र नबिल बैंकको १३ प्रतिशतसम्म छ ।
ग्राहक अनुसार फरक ब्याजदर
बैंकहरूले ग्राहक हेरेर फरक ब्याजदर लगाउँदै आएका छन् । राम्रो आम्दानी भएका, नियमित बैंकसँग कारोबार भएका, बैंकको गुड लिष्टमा रहेका ग्राहकलाई अधिकांश बैंकले आधारदरमा २ प्रतिशत प्रिमियम जोडर कर्जा दिँदै आएका छन् ।
त्यसैगरी, विद्युतीय साधन किन्ने ग्राहकलाई पनि केही सहजै बैंकहरूले कर्जा उपलब्ध गराउँदै आएका छन् ।

