काठमाडौं । मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटो कर्पले पेट्रोल इन्जिन युक्त ब्रेजा आजबाट बिक्री सुरु गर्ने भएको छ । कम्पनीले आज दिउँसो यसको मूल्य घोषणासँगै बिक्री सुरु गर्न लागेको हो ।
कम्पनीले नयाँ ब्रेजालाई आफ्नो देशभर रहेको डिलर नेटवर्कमा पुर्याइ सकेको छ । आजबाट सबै डिलर नेटवर्कबाट नयाँ ब्रेजा ग्राहकले किन्न सक्ने छन् । यसअघि डिजेल इन्जिनमा मात्रै उपलब्ध यो मोडल अब पेट्रोल इन्जिनमा मात्रै उपलब्ध रहने छ ।
पहिलेको तुलनामा थुप्रै कस्मेटिक परिमार्जन भएर आएको ब्रेजाको मूल्य ४० लाख हाराहारीमा रहने कम्पनी स्रोतले जनाएको छ । यद्यपी कम्पनीले मूल्य भने अहिले खुलाएको छैन ।
नयाँ ब्रेजाले नेपाली बजारमा हुन्डाई भेन्यू, टाटा नेक्सन, फोर्ड इकोस्पोट, महिन्द्रा एक्सयूभी ३०० जस्ता मोडलसँग प्रतिस्पर्धा गर्ने छ ।
भारतमा ब्रेजाको एलएक्सआई, भिएक्सआई, जेडएक्सआई, जेडएक्सआई प्लस र जेडएक्सआई प्लस (डियूलटोन) गरि ५ भेरियन्ट म्यानुयलमा र भिएक्सआई, जेडएक्सआई, जेडएक्सआई प्लस र जेडएक्सआई प्लस (डियूलटोन) गरि चार अटोमेटिक भेरियन्टमा बिक्री हुँदै आएको भएपनि नेपालमा भिएक्सआई र जेडएक्सआई भेरियन्ट मात्र उपलब्ध हुने छ ।
नयाँ ब्रेजामा १.५ लिटर के१५बी एसएचभीएस फोर सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले १०५ पीएस पावर र १३८ एनएम टर्क प्रदान गर्नेछ । ५ स्पीड म्यानुयल र ४ स्पीड टर्क कन्भटर अटोमेटिक गियरबक्स दिइएको छ ।
अटोमेटिक गियरबक्समा नेपाल आउने नआउने कुनै जानकारी प्राप्त भएको छैन ।
कम्पनीले जनाए अनुसार यसमा हाइब्रिड टेक्नोलोजीको प्रयोग गरिएको छ । उक्त टेक्नोलोजीले इन्धन बचत, आइडियल स्टार्टरस्टप, टर्क एसिस्ट फङ्सन, ब्रेक इनर्जी रिजेनेरेशन जस्ता फिचर उपलब्ध रहेको छ ।
अगाडिको भागमा केही परिमार्जन सहित आएको ब्रेजामा रि–डिजाईन हेडल्याम्प र एलइडी डेटाइम रनिङ लाईट प्रदान गरिएको छ । यसको टप भेरियन्टमा ग्रिलमा क्रोमको प्रयोगले गाडी निकै आकर्षक देखिएको छ । यसले गाडीलाई पहिलेको तुलनामा निकै सार्प र स्पोर्टी देखाएको छ ।

