मूल्य घटाघटमा प्रतिस्पर्धा चलेको अटो शो

काठमाडौं । कुनै समय टाटा, हुन्डाई, किया, निसान जस्ता ब्राण्डले २० लाखसम्म छुट भनेर स्कीम लगाउँथे । उनिहरुको स्कीम विशेषगरी दशैं-तिहार, नयाँ वर्ष वा अन्य कुनै विशेष अवसर जुराएर आउँथ्यो । तर, मूल्यमा वार भएन ।

प्राइस वार उपभोक्ताको लागि निकै फाइदाको कुरा हो । लामो सयम वाइवाइ र मायोज चाउचाउ बीचको वारले बजारमा धेरै वर्षसम्म चाउचाउको मूल्य नघटेपनि बढ्दा पनि बढेन । त्यसको फाइदा उपभोक्ताले पाएकै थिए । अहिले पनि चाउचाउमा कतै न कतै वार चलिरहेकै छ ।

तर, सन् २०२४ को सुरुवातसँगै बजारमा एकपछि अर्को नयाँ इलेक्ट्रीक कार ब्राण्ड आए । नयाँ कार ब्राण्ड र प्रतिस्पर्धी मोडलको संख्या वृद्धिसँगै मूल्यमा पनि तिब्र प्रतिस्पर्धा सुरु भएको हो । त्यसको पछिल्लो उदाहरण नामीको मूल्य हो ।

धेरैले नामी ह्याचव्याकको मूल्य ३५ देखि ४० लाख भित्र रहने अनुमान गरेका थिए । तर, एमएडब्लू वृद्धिले यसको मूल्य ३० लाखदेखि ३५ लाख भित्रै राखेर बजारमा उपभोक्तालाई फाइदा दिएको छ ।

नामी निकै प्रतिस्पर्धी सेग्मेन्टमा उपलब्ध कार हो । यसले टाटा टियागो र पन्च, नेटा भी, सिट्रोन ईसीथ्री, विलिङ विङ्गोदेखि बीवाइडी डल्फीनसम्मका उत्पादनसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

नामीको मूल्यसँगै अन्य साना कारलाई पनि मूल्य कम निर्धारण गर्ने दवावमा परेको थियो । त्यसैले टाटाले पन्च ईभीको मूल्य नाडा अटो शोको लागि भन्दै ३३ लाख ९९ हजारदेखि ३८ लाख ९९ हजारसम्म कायम गरेको हो ।

यी दुई त नयाँ कार थिए । अल्ली अघि नेपाल आएपनि पहिलो पटक दुवै कम्पनीहरुले मूल्य कायम गरेका थिए । त्यसैले प्रतिस्पर्धीलाई हेर्नु स्वभाविक भयो । तर, यहाँ पुराना कारमा पनि प्राइस वार चल्यो ।

एमजीले जेडएस ईभीमा ६ लाख रुपैयाँले मूल्य कटौती गरेसँगै उसको प्रतिस्पर्धी सेरेस-थ्रीले ४ लाख रुपैयाँले मूल्य घटायो । एमजीले आफ्नो १०० वर्ष पुगेको अवसरमा स्कीम दिएको बताउँदा सेरेसले नाडाको लागि अफर दिएको बताएको छ ।

जिकर एक्स सोचेभन्दा १० लाख कम मूल्यमा आएको छ । जेको जे-सिक्समा ३ लाख रुपैयाँ नाडा अटो शो अफर दिएको कम्पनीले जनाएको छ । दिपलले पनि अटो शोमा ३ लाख रुपैयाँ नै छुट अफर गरेको छ ।

लिप मोटर्सले सी-१० एसयूभीको मूल्य ६७ लाख ९९ हजार तोकेर बिक्री सुरु गरेको छ । यो मूल्य नाडा अवधिसम्मको लागि मात्रै रहने कम्पनीले जनाएको छ ।


Back_to_top