काठमाडौं । अहिले इलेक्ट्रीक कारको बहस विश्वव्यापीरुपमा भइरहेको छ । हरेक कम्पनीले इलेक्ट्रीक कार उत्पादनमा लगानी बढाइरहेका छन् । यस्तोमा कम मूल्यमा इलेक्ट्रीक कार ल्याउन सबै कम्पनी लागि परेका छन् ।
विश्वमा पेट्रोलियम पदार्थबाट चलने सवारीसाधन लकडाउनको कारण बन्द हुँदा वातावरणमा आएको सुधारले पनि इलेक्ट्रीक कार भोलिको दिनमा धेरै बिक्री हुने अनुमान गरिएको छ ।
चिनीयाँ मोटर कम्पनी ग्रेटवाल मोटर्सले संसारमै सबैभन्दा सस्तो इलेक्ट्रीक कार उत्पादन गरेर चर्चा कमाएको छ । गत फेब्रुअरीमा भारतमा भएको अटो एक्स्पो २०२० मा शोकेस गरिएको इलेक्ट्रीक कार ‘आर–१’ को कारण उक्त ब्राण्ड नेपाल ल्याउन करिब दुई दर्जन कम्पनीले आवेदन पठाएका छन् ।
अहिले संसारभर फैलिएको कोरोना भाइरसको कारण उक्त ब्राण्डलाई नेपाल ल्याउन चाहने समूहको विषयमा कम्पनीले कुनै घोषणा गरेको छैन । यद्यपी अहिलेको संकट समाधानको बाटोमा गएसँगै यो ब्राण्ड कसले नेपाल ल्याउँछ भन्ने टुङ्गो लाग्ने छ ।
यस्तो छ आर-१
चीनमा करिब ९ लाख नेपाली रुपैयाँ बराबरमा किन्न सकिने यो कार नेपाल आउँदा करिब १५ लाख हाराहारीमा बिक्री गर्न सकिने देखिन्छ । कम मूल्यमा बिक्री गर्न सकिने स्टाइलिस कार भएकैले धेरै कम्पनीहरुले यसमा आँखा लगाएका हुन् ।
यसमा ३३ किलोवाटको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ भने ३३ किलोवाट कै इलेक्ट्रीक मोटर जडान गरिएको छ । यसलाई प्रतिघण्टा १०० किलोमिटरको रफ्तारमा कुदाउन सकिने छ । एक पटकको फुलचार्जमा ३५१ किलोमिटरको दुरी तय गर्ने क्षमता भएको यो कार अहिले चर्चामा रहेको छ ।
यही बराबरको रेञ्ज प्रदान गर्ने गाडी अहिले ५० लाख हाराहारीमा तिर्नु पर्ने अवस्था रहेकोमा सानो आकारको यो कारले धेरैलाई लोभ्याउने क्षमता राख्छ ।
ओरा आर-१ मा ९.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ भने कनेक्टेड कार टेक्नोलोजी, टायर प्रेशर मोनिटरिङ सिस्टम, रिभर्स पार्किङ सेन्सर जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ ।

