रोयल इन्फिल्ड क्लासिक ३५० किन्ने कि जावा ४२

काठमाडौं । रोयल इन्फिल्ड नेपाली मोटरसाइकल प्रेमीको लागि नयाँ नाम होइन । क्रुजर डिजाइन र क्लासिक लुक्सको कारण रोयल इन्फिल्डका उत्पादन नेपाली बाइक राइडरहरुको मन र मस्तिस्कमा बस्न सफल नाम र ब्राण्ड दुबै बनेको छ ।

बजारमा यो ब्राण्डसँग प्रतिस्पर्धा गर्ने अर्को मोडल नभएकाले यसले एकलौटी रुपमा आफुलाई स्थापित गर्दै आएको थियो । विशेषत लामो यात्रा र सहज राइडिङ पोस्चरको कारण यो मोटरसाइकल सबै उमेर समूहका मानिसको रोजाइमा पर्दै आएको थियो । अब बजारमा यसको एकछत्र राज सकिने भएको छ ।

रोयल इन्फिल्डलाई टक्कर दिन भारतमा करिब २ वर्षअघि आएको जावा मोटरसाइकल अब नेपाल आउने भएको छ । चेकको चर्चित ब्राण्ड जावा लामो समय उत्पादन रोकिएपछि भारतीय अटो कम्पनी महिन्द्रा एण्ड महिन्द्राले खरिद गरेपछि भारतमा उत्पादन सुरु भएको हो ।

उसोत रोयल इन्फिल्डपनि भारतमा नै उत्पादन हुने गर्छ । बेलायती ब्राण्ड रोयल इन्फिल्ड र चेक ब्राण्ड जावा क्लासिक मोटरसाइकल उत्पादनमा महारथ हासिल गरेका ब्राण्ड हुन् । यस्तोमा नेपाली बजारमा यी दुई ब्राण्ड बीचमा हुने प्रतिस्पर्धा निकै हेर्न लायक हुने अनुमान गरिएको छ ।

जावाले अहिले भारतमा ३ मोडलको उत्पादन गरिरहेको छ । जसमा जावा क्लासिक, जावा ४२ र जावा पेरक । तर, पेरक भने तत्काल नेपाल आउने छैन । जावा पेरक प्रिमियम मोटरसाइकल हो ।

रोयल इन्फिल्डले नेपालमा आफ्ना विभिन्न मोडलहरु बिक्री वितरण गर्दै आएको छ । यस्तोमा यहाँ हामीले रोयल इन्फिल्ड ३५० क्लासिक र जावा ४२ को बीच तुलना गरेका छौं ।

इन्जिन

दुबै मोटरसाइकलमा पेट्रोल इन्जिन दिइएको छ । रोयल इन्फिल्ड क्लासिक ३५० मा ३४६ सीसी क्षमताको एयर कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले ५२५० आरपीएममा १९.१ बीएच पावर र ४००० आरपीएममा २८ एनएम टर्क प्रदान गर्ने छ । त्यस्तै जावा ४२ मा २९३ सीसी क्षमताको लिक्विड कुल्ड इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम २७ बीएच पावर र २८ एनएम टर्क प्रदान गर्ने छ ।

रोयल इन्फिल्ड क्लासिक ३५० मा ५ स्पीड गियरबक्स रहेको छ भने जावा ४२ मा ६ स्पीड गियरबक्स दिइएको छ ।

ब्रेकिङ सिस्टम

रोयल इन्फिल्ड क्लासिक ३५० मा दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ । यसको अगाडि चक्कामा २८० एमएम र पछाडि चक्कामा २४० एमएमको डिस्क दिइएको छ ।

जावाको अगाडि डिस्क र पछाडि ड्रम ब्रेक रहेको छ । यसको अगाडि चक्काको डिस्क २८० एमएमको रहेको छ भने पछाडि १५३ एमएमको ड्रम ब्रेक प्रयोग गरिएको छ ।

दुबै मोटरसाइकलमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

ह्वील साइज

रोयल इन्फिल्डको ह्वील साइज जावा ४२ को तुलनामा केही ठूलो रहेको छ । रोयल इन्फिल्ड क्लासिक ३५० मा अगाडि १९ इन्च र पछाडि १८ इन्चको टायर प्रयोग गरिएको छ भने जावा ४२ मा अगाडि १८ इन्च र पछाडि १७ इन्चको ह्वील दिइएको छ । दुबै मोटरसाइकलमा स्पोक ह्वील उपलब्ध रहेको छ ।

सस्पेन्सन

आरामदायी यात्राको लागि आवश्यक सस्पेन्स निकै महत्वपूर्ण हुन्छ । लामो यात्राको लागि सहयोग पुग्ने हिसावका सस्पेन्स दुबै मोटरसाइकलमा दिइएको छ । रोयल इन्फिल्ड क्लासिक ३५० को अगाडि टेलिस्कोपिक ट्राभल सस्पेन्सन दिइएको छ । जावा ४२ को अगाडि टेलिस्कोपिक हाइड्रोलिक फर्क रहेको छ ।

साथै क्लासिक ३५० को पछाडि ५ स्टेप एड्जस्ट गर्न मिल्ने ट्वीन ग्यास चार्ज्ड शक एब्जर्बर दिइएको छ भने, जावा ४२ मा ग्यास क्यानिष्टर ट्वीन शक हाइड्रोलिक सस्पेन्सनको प्रयोग गरिएको छ ।

तौल

रोयल इन्फिल्डको कुल तौल जावा ४२ को तुलनामा २५ किलोग्राम बढी रहेको छ । क्लासिक ३५० को तौल १९५ किलोग्राम छ भने जावा ४२ को १७० किलोग्राम मात्रै रहेको छ ।

मूल्य
रोयल इन्फिल्ड क्लासिक ३५० को नेपाली बजारमा मूल्य ६ लाख रहेको छ । यही मोटरसाइकलको भारतीय बजारमा १ लाख ६९ हजार भारतीय रुपैयाँ एक्स शोरुम प्राइस रहेको छ । यस्तै जावा ४२ को मूल्य १ लाख ६० हजार भारतीय रुपैयाँ रहेको छ । जावा ४२ काे नेपालकाे मूल्य निर्धारण भएकाे छैन । जावा ४२ दशै‌ंसम्ममा नेपाल आउने अनुमान गरिएकाे छ ।


Back_to_top