मूल्यमा आक्रमक रोयल इनफिल्ड शोरुम बिस्तारमा पनि तिब्र

काठमाडौं । मोटरसाइकलको बिक्री सुस्त भएको भन्दै सबै बिक्रेता रनभुल्लमा परिरहेको समयमा रोयल इनफिल्ड भने निकै आक्रमक देखिएको छ । कम्पनीले कम मूल्यका मोटरसाइकल ल्याउने र शोरुम बिस्तारलाई तिब्रता दिने रणनीति नै बनाएर काम गरिरहेको देखिन्छ ।

रोयल इनफिल्डलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी अल्फा अटोमोटीभले नयाँ शोरुम टेकुमा संचालनमा ल्याएको छ । कम्पनीको उपत्यकामा यो तेश्रो शोरुम हो ।

कम्पनीले बाइकर्स होमको अवधारणामा निर्माण गरेको यो शोरुमा रोयल इनफिल्डका मोटरसाइकल तथा राइडिङ गियर्स साथै एशोसरिजहरु समेत उपलब्ध हुनेछन् ।

योसँगै कम्पनीको देशभर विभिन्न १८ स्थानमा शोरुमा संचालनमा आएको हो । केही दिनमा नै थप ३ स्थानमा नयाँ शोरुमा संचालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ । अन्य ब्राण्डका शोरुम धमाधम बन्द हुँदै गएको समयमा रोयल इनफिल्डले भने नयाँ शोरुम खोल्दै गएको देखिन्छ ।

त्रिवेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोटिभले आधिकारिक बिक्री सुरु गरेसँगै नयाँ उत्पादन ल्याउनुको साथै नेपालमै एसेम्बल यूनिट स्थापना गर्नेदेखि नेटकर्व विस्तारले तिब्रता पाएको हो ।

पछिल्लो समय कम्पनीले ५ लाखभन्दा कम मूल्य राखेर क्लासीक ३५० सार्वजनिक गरेदेखि नै बिक्री र चर्चा दुबै पाएको थियो । अब नाडा अटो शोबाट कम्पनीले ४ लाख ५९ हजार सुरुवाती मूल्य राखेर हन्टर ३५० पनि सार्वजनिक गरेको छ ।

टेकुमा संचालनमा आएको नयाँ शोरुममा समेत हन्टर ३५० सार्वजनिक गरिएको छ । कम्पनीले अहिले हन्टर ३५०, क्लासीक ३५० र स्क्रयाम ४११ बिक्री गर्दै आएको छ ।


Back_to_top