कसरी हुन्छ ओरालोमा ईभी चार्ज ? यस्तो छ प्रविधिको विकास

काठमाडौं । न्यू इनर्जी भेहिकलको विकास र विस्तारसँगै नयाँ नयाँ टेक्नलोजी आइरहेका छन् । इलेक्ट्रीक कारमा इनर्जी स्टोरेज गर्न ब्याट्री दिइएको हुन्छ । उक्त ब्याट्रीमा स्टोर गरिएको इनर्जी कार अगाडि गुडाउन प्रयोग गरिन्छ ।

ब्याट्रीमा स्टोर गरिएको इनर्जीले कारमा दिइएको इलेक्ट्रीक मोटरलाई घुमाएर गाडी अगाडि बढाउने सरल प्रक्रियाबाट ईभी निर्माण हुने गर्छन् । यसरी गाडी गुडाउँदा निरन्तर ब्याट्री खर्च हुन्छ । यही ब्याट्री खपत कम गराउन एक्सीलेटर नथिचेको समयमा ब्याट्री चार्ज गर्ने प्रविधि ईभीमा प्रयोग गरिन्छ । यसलाई रिजेनेरेटिभ ब्रेकिङ सिस्टम भनिन्छ ।

ईभीको रेन्ज अहिले विश्वभर चर्चामा रहेको विषय हो । हरेक उत्पादकले ईभीमा धेरैभन्दा धेरै रेन्ज प्रदान गर्न चाहन्छन् । यस्तोमा ईभीको रेन्ज बढाउन गाडीमा रहने ब्याट्रीको साइज पनि बढाउनु पर्ने हुन्छ । ब्याट्रीको सिधा सम्बन्ध गाडीको मूल्यसँग जोडिने भएकोले आवश्यकताभन्दा ठूलो ब्याट्री लगाउन कम्पनीहरूले सक्दैनन् ।

त्यसैले ब्याट्री आफैँ चार्ज गर्ने विषयमा ईभी उत्पादकले नयाँ नयाँ खेज गरिरहेका हुन्छन् । गाडी गुडिरहेकै अवस्थामा आफैँ चार्ज गर्ने सिस्टमको विकास कम्पनीहरूले गरेका छन् ।

रिजेनेरेटिभ ब्रेकिङले काम कसरी गर्छ भन्ने धेरैलाई कौतुहलता हुन्छ । गाडी चलाउँदा सडकको अवस्था अनुसार स्पीड नियन्त्रण गर्दै चलाउनु पर्ने हुन्छ । त्यसको लागि ब्रेक लगाउनु पर्छ । ब्रेक लगाउँदा उत्पन्न हुने काइनेटिक फोर्सको सहयोगमा ब्याट्री रिचार्ज गर्ने प्रविधि रिजेनेरेटिभ ब्रेकिङ सिस्टम हो ।

उक्त कार्य गर्न गाडीमा फिट भएको मोटरले दुईथरी काम गर्न गर्नु पर्छ । पहिलो ब्याट्रीबाट इनर्जी लिएर गाडीको चक्का घुमाउने र अर्को घुमिरहेको चक्काको सहारामा इन्भटरको काम गर्दै ब्याट्री रिचार्ज गर्ने हो ।

विशेषगरी एक्सीलेरेटरबाट खुट्टा हटाउने बित्तिकै गाडीले ब्याट्री रिचार्ज सुरू गर्छ । यसमा गुरुत्वकर्षणको सहयोग रहन्छ । यदि हाम्रो ईभी ओरालोमा गुडिरहेको छ भने त्यसका लागि मोटरले पावर दिनु पर्दैन । गुरुत्वकर्षणका कारण गाडी आफैँ ओरालोमा गुड्न थाल्छ । यो अवस्थामा आफूलाई आवश्यकभन्दा बढी स्पीडको सहायताले रिजेनेरेटिभ सिस्टमबाट ब्याट्री रिचार्ज हुन्छ ।

यदि ईभी चलाउने लामो बाटो छ भने गाडीको ब्याट्रीलाई धेरै किलोमिटर गुडाउन पुग्ने रिचार्ज गर्न सकिन्छ । आधुनिक ईभीहरूमा रिजेनरेशनको लेबल पनि दिएको हुन्छ । गाडीको स्पीड तथा बाटोको अवस्था हेरेर रिजेन लेवल मिलाएर चलाउँदा आवश्यक स्पीड र ब्याट्रीसमेत रिचार्ज गर्न सकिन्छ । रिजेनेरेसन सिस्टमको प्रयोगले गाडीको स्पीड समेत कन्ट्रोल हुन्छ ।


Back_to_top