काठमाडौं । मारुती सुजुकीले अघिल्लो महिना विक्री सुरु गरेको ग्राण्ड भिटाराको स्ट्रङ हाइब्रिड मोडलको सफलता सुरु भएसँगै कम्पनीले नयाँ जेनेरेशन स्वीफ्ट पनि स्ट्रङ हाइब्रिड इन्जिनमा ल्याउने समाचार बाहिर आएको छ ।
सन् २०२३ को अन्तिम वा २०२४ को पहिलो क्वाटरबाट बजारमा ल्याउनेगरी कम्पनीले नेक्ट जेनेरेशन (चौथो जेनेरेशन) स्वीफ्ट र डिजायर ल्याउने तयारी गरेको हो । कम्पनीले यी दुबै मोडलमा स्ट्रङ हाइब्रिड इन्जिन प्रदान गर्नेछ ।
भारतमा उच्च माइलेज दिने कारको बजार निकै ठूलो छ । त्यसैले २८ किलोमिटर माइलेज दावी गरिएको ग्राण्ड भिटारामा ग्राहकको आकर्षण बढ्दो भएसँगै ३५ देखि ४० किलोमिटर माइलेज दिनेगरी स्वीफ्ट र डिजायर मोडल ल्याउन लागिएको हो । कम्पनीले यसमा १.२ लिटर स्ट्रङ हाइब्रिड इन्जिन दिनेछ । ग्रान्ड भिटारामा १.५ लिटर इन्जिन दिइएको थियो ।
मारुती सुजुकीले नयाँ मोडलको इन्टरनल कोड नेम ‘वाईइडी’ दिएर विकास गरिरहेको सूचना बाहिर आएको छ । साथै, नयाँ इन्जिनको कोण नेम ‘जेड१२ई’ दिइएको छ । नयाँ इन्जिन थ्री सिलिण्डर युक्त हुनेछ ।
अझै बजारमा कम्प्याक्ट ह्याचव्याक कारको माग उच्च रहेको विष्लेषण सहित मारुती सुजुकीले स्वीफ्टको नयाँ जेनेरेशन ल्याउन लागेको हो । उच्च माइलेज दिने हाइब्रिड इन्जिन भएको कारण स्वीफ्ट र डिजायरको मूल्य अहिलेको तुलनामा केही बढी हुनेछ ।

