काठमाडौं । सडक डिभिजन कार्यालय, हेटौंडाले बजार क्षत्रेमा सडक विस्तार अभियान हाललाई स्थगित भएको जानकारी गराएको छ ।
डिभिजनले आइतबार एक सूचना जारी गर्दै सर्वोच्च अदालतको उत्प्रेषण आदेशका हाललाई सडक विस्तार स्थगित गरिएको जनाएको हो ।
सर्वोच्चले शुक्रबार नै तत्कालका लागि घरटहरा भत्काउने काम रोक्न अल्पकालीन आदेश जारी गरेको थियो । तर, सडक डिभिजनले अदालतको आदेश आधिकारिक रुपमा प्राप्त नभएको भन्दै शनिबार एकैदिन आधादर्जन बढी डोजर परिचालन गरी सडक किनाराका ५३१ वटा घरटहरा भत्काएको थियो ।
डिभिजन कार्यालयले आइतबार १२ः४६ मिनेटमा उक्त आदेश प्राप्त भएकाले सडक विस्तार कार्य हाललाई स्थगित गरिएको जनाएको छ।
‘सडक सीमा संरक्षण अभियानको क्रममा प्रकाशित सूचनाका विरुद्ध केही सरोकारवालाहरूबाट सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन पेसभई सम्मानित सर्वोच्च अदालतबाट मिति २०८२/०८/१९ मा जारी उत्प्रेषण आदेश मिति २०८२/०८/२१ गते, दिनको १२:४६ मा म्याद तामेल भएकोले सम्मानित अदालतको आदेशलाई सम्मान गर्दै सूचनामा उल्लेख गरिएका कार्यहरू हाललाई स्थगन गरिएको व्यहोरा अनुरोध छ,’ डिभिजनले भनेको छ ।

