काठमाडौं । भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता टीभीएस मोटरले आफ्नो रेट्रो-आधुनिक मोटरसाइकल रोनिनको नयाँ भेरियन्ट सार्वजनिक गरेको छ ।
कम्पनीले भारतीय बजारमा टीभीएस रोनिनको अगोन्डा भेरियन्ट आधिकारिक रूपमा सार्वजनिक गरेको हो । टीभीएसले रोनिन अगोन्डा भेरियन्टको मूल्य १ लाख ३१ हजार रुपैयाँ (एक्स शोरूम)तोकेर बिक्री सुरू गरेको हो ।
यस भेरियन्टमा कम्पनीले स्टाइलिङसँगै कस्मेटिक पार्टस्हरू अपडेट गरी बजारमा ल्याएको हो । रोनिन अगोन्डाको डिजाइन गोवाको शान्त र सुन्दर अगोन्डा समुद्र तटबाट प्रेरित छ । यस डिजाइनले आरामदायी वातावरणलाई उजागर गर्ने कम्पनीको भनाइ छ ।
यसमा धेरै कस्मेटिक डिजाइन परिवर्तन भएका छन् । यी परिवर्तनहरूले मोटरसाइकललार्ई अझ धेरै आकर्षक बनाएको छ । यस भेरियन्टको इन्धन ट्यांकी र हेडल्याम्प काउलमा लाइटिङ ह्वाइट कलरका साथै अन्य बडी कलर ब्ल्याक दिइएको छ । यसको इन्धन ट्यांकीमा ठूला अक्षरमा एगोन्डा ब्याज, रातो र निलो पिनस्ट्राइप लाइन रहेको छ ।
डबल क्रयाडल स्प्लिट सिंक्रो स्टिफ फ्रेममा निर्माण भएको यस मोटरसाइकलमा लेफ्ट साइडमा माउन्ट गरिएको राउण्ड डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल छ । यसको फ्रन्टमा यूएसडी फोर्क र रियरमा ७ स्टेप एड्वस्टेबल मोनोशक सस्पेन्सन सेटअप दिइएको छ ।
यसमा ग्लाइड थु्र टेक्नोलोजी, आइएसजी, ब्लुटूथ कनेक्टिभिटी, भ्वाइस असिस्ट, कल एसएमएस अलर्ट, नेभिगेसन, टीभीएस स्मार्ट कनेक्ट सिस्टम, डिस्ट्यान्स टू एम्प्टी, अलोय ह्वील, डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, एबीएस मोड र साइड स्ट्याण्ड इन्डिकेटर्स जस्ता फिचरहरू पाइन्छन् ।
रोनिन अगोन्डा मोटरसाइकलमा २२५.९ सीसी, सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्ब, एसओएचसी इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम २०.४ पीएस पावर र १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा असिस्ट र स्लिपर क्लचका साथै ५ स्पीडको गियरबक्स छ ।

