नागढुंगा-नौबिसे-मलेखु सडक दैनिक ५ घण्टा बन्द हुने

काठमाडौं । नागढुंगा-नौबिसे-मलेखु सडक खण्ड दैनिक ५ घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङले संयुक्त सूचना जारी गर्दै मंसिर २४ गतेदेखि पुस १ गतेसम्म दैनिक  ५ घण्टा सडक बन्द गरी निर्माणलाई तीव्रता दिइने जानकारी गराएका हुन् ।

सूचना अनुसार नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा यही मंसिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म बिहान  १०ः३० बजेदेखि अपराह्न ३ः३० बजेसम्म सडक आवागमन बन्द हुनेछ।

त्रिभुवन राजपथको नागढुंगा नौबिसेको पिप्लामोड खण्ड कालोपत्र गर्ने र धादिङको गल्छी-गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ ।

सो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन तथा आफ्नो यात्रा समयलाई सो समय भन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न आग्रह गरिएको छ।

सो समयमा काठमाडौंबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुंगा  चेकपोस्टमा रोकिनेछ । सूचनामा अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण हुने जनाइएको छ।

मुग्लिङबाट काठमाडौंतर्फ जाने सवारी साधन खानीखोला (नौबिस), जुंगेखोला (थाक्रे), गल्छी-गजुरी खण्डको लागि गल्छी, बैरेनी र मासटारमा रोकिनेछ। साना तथा मझौला सवारीसाधनले अत्यावश्यक अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन्। सूचना अनुसार सीतापाईला भिमढुंगा,रामकोट  धार्के सडक, सामाखुसी टोखा-छहरे सडक वैकल्पिक रुपमा प्रयोग गर्न सकिने छ।

रोकिएका सबै सवारीसाधनलाई अपराह्न ३ः३० बजेपछि मात्र छाडिने सूचनामा उल्लेख छ।


Back_to_top