दाङ । घोराही उपमहानगरपालिकाले भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिँदै चक्रपथ निर्माण, प्रमुख नदीको दायाँबायाँ करिडोरसँगै सबै टोल बस्तीमा यातायातको सञ्जालले जोड्ने प्रस्ताव अघि बढाएको छ ।
शनिवार सम्पन्न तेस्रो नगरसभा अधिवेशनमा नगर प्रमुख नरुलाल चौधरीले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा सो जानकारी दिंदै नगरको केन्द्रबाट सबै वडा केन्द्रलाई जोड्न एक-एक वटा सडक छनोट गरी कालोपत्रे गर्ने, दुर्गम बस्तीबाट कम्तीमा आधा घण्टा पैदल हिँडेर यातायात भेट्न सकिने गरी सडक निर्माण गर्ने कुरा उल्लेख छ ।
कृषिलाई प्रवद्र्धन गर्न सिँचाइ सुविधा बढाउनका लागि कटुवा र गुज्रेखोलामा बाँध बनाउने, सिँचाइ सुविधा नभएका स्थानमा डिप बोरिङ निर्माण साना पोखरी निर्माण र थोपा सिँचाइ प्रणाली अवलम्बन गर्ने बताइएको छ ।
त्यस्तै भू-उपयोग नीति बनाएर बस्ती विकास, आवास विकास, बजार व्यवस्थापन, कृषि तथा व्यवसाय क्षेत्रको वर्गीकरण गरी व्यवस्थित विकासको नीति ल्याइएको छ ।
नगर क्षेत्रमा बन्ने भौतिक संरचनाहरु बालमैत्री, अपाङ्गमैत्री, ज्येष्ठ नागरिकमैत्री र महिलामैत्री बनाइने, आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउन सिकलसेल एनिमिया रोगको निःशुल्क ल्याब परीक्षणको व्यवस्थासमेत मिलाइनसमेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

