काठमाडौं । रोयल इनफिल्डले २०२४-२५ मा १० लाख युनिट मोटरसाइकल बिक्री गरेको छ । चेन्नाइ वेस प्रिमियम मोटरसाइकल निर्माता कम्पनी रोयल इनफिल्डले पहिलो पटक एक आर्थिक वर्षमा १० लाख यूनिट मोटरसाइकल बिक्री गर्न सफल भएको हो ।
कम्पनीले २०२४ को अप्रिल देखि २०२५ मार्चसम्ममा १० लाख ९ हजार ९०० युनिट मोटरसाइकल बिक्री गरेर नयाँ रेकर्ड बनाएको हो ।
कम्पनीले २०२५ को मार्च महिनामा मात्र १ लाख १ हजार २१ युनिट मोटरसाइकल बिक्री गरेको थियो । कम्पनीले भारतीय बजार लगायत एक्स्पोर्ट बजारमा राम्रो ब्यापार गर्न सफल भइरहेको छ । यस्तोमा कम्पनीको सबैभन्दा सस्तो मोटरसाइकल हन्टर ३५० मात्रै ५ लाख युनिट बिक्री भएको छ ।
कम्पनीले हालै मात्र भारतीय बजारमा गुरिल्ला ४५०, वियर ६५०, क्लासिक ६५०, गोअन ३५० र अपडेटेड क्लासिक ३५० सार्वजनिक गरेको छ । यसले अझै कम्पनीको सेल्स बुस्ट गर्ने कम्पनीको भनाई छ । कम्पनीले अन्राष्ट्र्रिय बजारमा आफ्नो उपस्थिती बलियो बनाउन बंग्लादेश म्यानुफ्याक्चरिङ प्लान्ट र थाइल्याण्डमा एसेम्बल प्लान्ट स्थापना गरेको छ ।
रोयल इनफिल्डको नेपालमा पनि एसेम्बल प्लान्ट संचालन हुँदै आएको छ । रोयल इनफिल्डले नेपाली बजारमा बार्षिक १० हजार युनिट हाराहारीमा मोटरसाइकल बिक्री गर्दै आएको छ । रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी अल्फा अटोमोटिभले नेपालमा हन्टर, क्लासिक ३५०, मेअिटर, स्क्रयाम र हिमालयन ४५० जस्ता मोटरसाइकल बिक्री गर्दै आएको छ ।

